Logo

विमस्टेकका क्षेत्रहरु छरिएका छन्, अब फोकस्ड गर्नुपर्छ : पूर्व सचिव ओझा



काठमाडौं, ७ भदौ ।  नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझाले यो १४ वर्षको ईतिहासमा विमस्टेकले खासै प्रगति नगरेपनि अहिले आएर गति लिएको बताउँदै अब यो गतिमा ब्रेक लाग्न नहुने धारणा राखे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले विमस्टेक शिखर सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘ठूला राष्ट्रहरुको रणनैतिक स्वार्थका कारण यो त्यति राम्रोसँग अघि बढ्न सकेन । अहिले यसले गति लिएको छ । अब यो गतिमा कुनै ब्रेक नलागोस्।’

विमस्टेकको सुरुवातदेखि अहिलेसम्म आईपुग्दा ६, ८ हुँदै १४ वटा सहयोगका क्षेत्रहरु पहिल्याएको बताउँदै उनले भने,‘धेरै क्षेत्रहरु हुँदा ध्यान विकेन्द्रिकरण भयो । फोकस्ड क्षेत्रहरु नहुँदा उपलब्धिहरु कम हाँसिल भए । अब उपलब्धिहरु हाँसिल गर्नेगरि क्षेत्रहरुपनि अब कन्सोलिडेट गर्नुपर्छ ।’

वस्तु व्यापारसम्बन्धी सम्झौता सन् २००५ मै भएपनि अहिलेसम्म यसबारेमा खासै प्रगति नभएको उनको गुनासो छ । उनले भने,‘सम्झौता भएका कुरा र सम्मेलनले जाहेर गरेका प्रतिबद्धताहरु कार्यान्वयन हुनुपर्छ । कार्यान्वनय पक्षमा अब जोड दिनुपर्छ ।’

नेपाल र भुटानजस्तो भुपरिवेष्ठित देशको लागि हाईड्रोनै प्रमुख क्षेत्र हुने बताउँदै उनले भने,‘ईनर्जीमा कोअपरेशन हुनुपर्छ । भारतमा कोल छ । बंगलादेशमा ग्याँस छ । त्यसैले ईनर्जी कोअपरेशनलाई बढि जोड दिनुपर्छ ।’

त्यस्तै जनता जनताबीचको सम्बन्धलाई अघि बढाउनको लागि पनि पर्यटन विकासमा जोड दिनुपर्ने उनको अर्को सुझाव छ। ओझाले भने,‘बुद्धिष्ट सर्किटको विषयलाई अब जोडतोडका साथ उठाउनुपर्छ । यस विषयमा यो सम्मेलनमार्फत ठोस कामको थालनी गर्नुपर्छ ।’ त्यस्तै सम्मेनलमा कनेक्टिभिटी, सेवाका क्षेत्र र लगानीमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्