Logo

कोटेश्वर, नयाँ वानेश्वर र चक्रपथमा पनि अन्डरपास बन्ने भयो



भदौ ८, काठमाण्डौ । नेपालको पहिलो अण्डरपास वे कलंकीमा बनिसकेको छ । कलंकी चोकमा निर्माण भएको जस्तै अन्डरपास वे बानेश्वर र कोटेश्वरमा पनि निर्माण हुने भएको छ । अबको २ वर्षमा निर्माण कार्य सम्पन्न हुने गरी टेण्डर आह्वान गरिएको छ । महाराजगंज चोकमा पनि अण्डरपास बन्ने भएको छ ।

काठमाण्डौको कलंकीचोकमा पहिलो अण्डरपास वे बनाउने योजना सफल भइसकेको छ । कलंकीको अन्डरपास वे प्रभावकारी हुने देखिएपछि सरकारले काठमाणडैका अन्य ठूला र महत्वपूर्ण चोकमा पनि अण्डरपास वे निर्माण गर्ने योजना अघि सारेको छ । सडक विभागले विदेशी विज्ञको सल्लाहमा उपत्यकाका अन्य दुई स्थानमा अण्डरपास वे बनाउन लागेको हो ।

अहिले नयाँ वानेश्वरको संघीय संसद भवन अगाडि र कोटेश्वर चोकमा अण्डरपास वे बनाउने प्रक्रिया अघि बढाइएको हो । यो वर्ष सर्भे गरेर डिजाइन तयार पार्ने र आगामी वर्षदेखि यसको निर्माण कार्य शुरु गर्ने सडक विभागको योजना छ । निर्माण सुरु भएको २ वर्षभित्रमा सम्पन्न गर्ने गरी योजना बनाइएको छ । सडक विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ ।

डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भइरहेको सडक विभागले जनाएको छ । थापाका अनुसार छनौट भएको कम्पनीले छ महिनामा अण्डरपासको डिजाइन तयार पार्नुपर्नेछ ।

कोटेश्वर र नयाँ बानेश्वरबाहेक महाराजगंजको नारायण गोपाल चोकमा पनि अण्डरपास वे बन्ने भएको छ । महाराजगंज चोकमा बन्ने अण्डरपास भने चक्रपथ विस्तारकै क्रममा चीन सरकारले बनाइदिने छ ।

बानेश्वरको अण्डरपास हुबहु कलंकीको जस्तै बन्नेछ । तर कोटेश्वरको कस्तो बनाउने भन्ने निश्चित भइसकेको छैन । पर्यटन मन्त्रालयले विमानस्थलमुनिबाट अन्डरपास निर्माण गर्न नदिने भएकाले कोटेश्वरमा कस्तो शैलीको अण्डरपास बनाउने भन्नेमा अन्योल देखिएको हो ।

सडक विभाग भने यसअघि पर्यटनमन्त्रीसँग भएको छलफल सकारात्मक भएपछि नै काटेश्वरमा अन्डरपास निर्माणका लागि आशयपत्र आह्वान गरेको हो । एउटा अण्डरपास बनाउनका लागि ७० देखि ८० करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्