Logo

ओली-प्रचण्ड सहमत : बामदेव सांसद बन्ने पक्का, माधव नेपाललाई तनाब !



काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीका अर्का नेता बामदेव गौतमलाई जसरीपनि सांसद बनाउनुपर्ने भन्दै एउटा सहमतिमा पुगेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् तत्कालिन सिँचाईमन्त्री सञ्जयकुमार गौतसँग बर्दियाबाट चुनाव हारेका नेता बामदेवलाई उपचुनाव गराएर सांसद बनाउनेबारे ओली र प्रचण्डबीच हिजो सहमति भएको स्रोतको दाबी छ ।

गौतमलार्ई सांसद बनाउनको लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले डोल्पाबाट सांसद बनेका धनबहादुर बुुढालाई भेटेरै तत्काल राजिनामा दिन आग्रह गरिसकेका छन् । प्रधानमन्त्री ओली र पार्टीका अर्का अध्यक्ष प्रचण्डको यस्तो आग्रहपछि बुढापनि राजिनामा दिने सहमतिमा पुगिसकेको स्रोतको दाबी छ । सम्भवत: बुढाले आउने हप्ता राजिनामा दिने पार्टीका एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

तर पार्टीभित्र बामदेवलाई सांसद बनाउने विषयमा सबै नेताहरुको मत एक छैन । कतिपय नेताहरुले बामदेवलाई जसरीपनि सांसद बन्न दिनुहुँदैन भनेर असन्तुष्ट पक्षलाई उचालिरहेको पनि स्रोतको दाबी छ ।

नेता गौतम सांसद बने नेकपाभित्र बडो रोचक प्रतिष्पर्धा हुनेछ । आउने महाधिवेशनमा अध्यक्षको लागि प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालबीच कडा टक्कर हुने बुझिएको छ । तर, नेता गौतम अहिलेपनि प्रचण्डको विश्वासिला नेताको रुपमा परिचित छन् । दुई वर्षभित्र सम्पन्न भैसक्ने पार्टीको महाधिवेशनमार्फत पार्टी नेतृत्वमा पुग्न प्रचण्डले नै बामदेवलाई सांसद बनाउन लागेको एकथरी नेताहरुले आरोप लगाउन थालेका छन् ।

नेता गौतमलाई सांसद बनाउन नहुने पक्षमा नेता नेपाल रहेको पार्टी निकट उच्च स्रोतले जनायो । गौतम सांसद बन्दा नेता नेपाललाई टाउको दुखाई हुनुको प्रमुख कारण चाहीँ आउने महाधिवेशन नै हो । महाधिवेशनमा गौतमले प्रचण्डलाई सघाउने निश्चित् छ ।



प्रतिक्रिया दिनुहोस्