Logo

‘बलात्कारीलाई फाँसी दिने व्यवस्था गर्नुपर्छ’ :  सांसद चौधरी



“सरकारले पानीजहाज ल्याउनभन्दा बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन ध्यान दिनुपर्यो”

काठमाडौं, ९ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले बलाल्कारीलाई फाँसी दिने कानून आवश्यक भएको बताएकी छिन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘जनताका मागहरु राज्यले पूरा गर्नुपर्छ । कञ्चनपुरका जनताहरु आँखामा आँसु बोकेर सडकमा उत्रेका छन् । कुनै राजनीतिक गन्ध दिएर सरकार र सरकारमा भएका व्यक्तिहरुले त्यो घट्नाका बारेमा बेखबर बन्न मिल्दैन । सरकारले यस घट्नालाई सरकारले गम्भिर रुपमा लिनुपर्छ । जघन्य अपराध गर्नेलाई मृत्युदण्ड दिनुपर्छ । हाम्रो पार्टी बलात्कारीलाई मृत्युदण्ड दिनेबारेमा छलफल गर्न तयार छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा सांसद चौधरीले आफ्नो पार्टीका झापादेखि कञ्चनपुरसम्मका महिला नेतृहरु बलात्कारीलाई मृत्युदण्ड दिने कानून व्यवस्थाको लागि एक ढिक्का भएर उभिनेपनि विश्वास दिलाईन् ।

महामन्त्री चौधरीले कञ्चनपुर घट्नामा प्रहरी प्रशासननै दोषी भएको आशंका समेत गरेकी छिन् । उनले भनिन्,‘कञ्चनपुरको घट्नाका सम्बन्धमा त्यहाँको प्रशासननै दोषी प्रमाणित हुँदैछ । तल्काल प्रहरी प्रशासनमाथि छानविन होस् । बलात्कारपछि हत्या गर्नेलाई उन्मुक्ति दिएर फरक पात्र खडा गरेर प्रहरीले आफूलाई असफल प्रमाणित गर्दैछ।’

समृद्धि र विकास नागरिकको सुरक्षाविना सम्भव नरहेको बताउँदै चौधरीले भनिन्,‘राज्यले जनताको सुरक्षा दिने हो, तर यहाँ पीडकलाईसमेत जोगाउने पक्षमा सरकार लागेको देखिन्छ । दोषीलाई मृत्युदण्ड दिने हो भने यस्ता घट्नाहरुमा कमी आउँछन्, भारत र अमेरिकामापनि पछि संविधान संशोधन गरेर मृत्युदण्डको कानून ल्याईको हो । हाम्रो देशमापनि सम्भव छ ।’

चौधरीले रेल, घर–घरमा ग्यास पाईप, पानीजहाज जस्ता खुद्रा कुरा गर्नुभन्दापनि जनताका न्युनतम समस्याहरु समाधान गर्नुपर्नेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेकी छिन् । उनले भनिन्,‘महिलाहरुमाथि भैरहेका बलात्कारलगायतका हिंसाजन्य घट्नाहरुको बारेमा सरकार गम्भिर बन्नुपर्छ । अहिले उदासिन देखिएको छ।’



प्रतिक्रिया दिनुहोस्