Logo

अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला मन्त्रीद्वारा प्रचण्डसँग भेट



काठमाडौं, १० भदौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि. वेल्सले भेट गर्नुभएको छ ।

अध्यक्ष निवास खुमलटारमा आइतवार बिहान भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थन बारे चर्चा भएको थियो । निवासमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ ।’

उहाँले ७० वर्षदेखिको राजनैतिक अस्थिरताको अन्त्य गरी स्थिरता कायम गरेको बताउनुहँदै अब आफूहरु आर्थिक समृद्धिमा लागेको स्पष्ट पार्नुभयो ।

भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले त्यसको लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘ नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगीसिद्ध हुनेछ ।’

उहाँले शान्ति, समृद्धि र लोकतन्त्र प्रति आफूहरु पूर्णप्रतिवद्ध रहेको बताउनुहुँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुसरण गरिएको बताउनुभयो ।

भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गर्नुभएको थियो । उहाँले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताउनुभयो ।

नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको मन्त्री वेल्सको धारणा थियो । उहाँले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताउनुभयो ।

उहाँले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । मन्त्री वेल्स भन्नुभयो, ‘नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न देश हो । यहाँ धेरै सम्भावनाहरु रहेका छन् ।’



प्रतिक्रिया दिनुहोस्