Logo

नेपालका लागि विमस्टेकले प्रशस्त प्लेटफर्म दिन्छ, ग्रिड कनेक्टिभिटीमा सम्झौता हुन्छ : प्रदिप ज्ञवाली



बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन भोली र पर्सी दुई दिन हुँदैछ । सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलनका एजेण्डाहरु पनि तयार भइसकेका छन् । यसै विषयमा केन्द्रित रहेर ऋषि धमलाले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रदिप ज्ञवाली, परराष्ट्रमन्त्री
भोलीदेखि विमस्टेक सम्मेलन हुँदैछ । यो सम्मेलनमा केके विषय प्राथमिकतामा छन् ?
हामीले तीनवटा कुरालाई जोड दिएका छौँ । मूल नारामा नै शान्त, समृद्ध र दिगो वंगालको खाडी क्षेत्रतर्फ उल्लेख गरेका छौँ । हामीले कस्तो बंगालको खाडी चाहन्छौँ भन्ने कुरा नै मूख्य प्राथमिकता हो । कसरी अगाडि बढ्न चाहन्छौँ भन्ने कुरा पनि प्रतिबिम्बित गरेका छौँ ।

शान्त, समृद्ध र दिगो बंगालको खाडीका लागि केके काम गर्नुपर्छ ?
यसका लागि सातवटै देशलाई कनेक्टिभिटीमार्फत नजिकको सञ्जालमा जोड्नुपर्छ । व्यापार, लगानी र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक एकीकरण गर्नुपर्छ । यो क्षेत्रमा जनु विविधता छ, सेता हिमालदेखि निला समुद्रसम्म, यसलाई विश्वकै महत्वपूर्ण सम्पदा बनाउका लागि जोगाउनुपर्छ । जोगाउन सकिएन भने ठूला वातावरणीय समस्या पनि आउन सक्छ । ति सबै कुरालाई ख्याल गर्दै दिगो बंगालको खाडी बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।

यस पटकको सम्मलेन विगतको भन्दा फरक हुन्छ ?
यसभन्दा अगाडि विमस्टेकले धेरै कार्यक्षेत्रहरु समेटेको रहेछ । अहिले १६ वटा क्षेत्र तोकिएको छ । सबै क्षेत्र महत्वपूर्ण छन् । तर सबै क्षेत्रमा हात हालियो भने कुनै पनि क्षेत्रबाट राम्रो परिणाम आउँदैन । यसपटक हामीले १६ वटा क्षेत्रलाई एकआपसमा मिलाएर, गाभेर सिमित क्षेत्र बनाएका छौँ । सबैभन्दा बढि जोड कनेक्टिभिटीमा छ ।

ग्रिड कनेक्टीभिटी केका लागि ? सम्मेलनले यस विषयमा ठोस नतिजा दिन सक्छ त ?
युरोपियन युनियन किन सफल छ भन्दा सबै कनेक्टिभिटी छ । तर विमस्टेक राष्ट्रहरुबीचमा कनेक्टिभिटीको अभाव छ । रेल्वे, सडक, हवाई यातायात, अप्टिकल फाइबर लगायत अनेकै माध्यमबाट हामी जोडिन चाहन्छाँै । यसले विकास निम्ति बाटोहरु खोल्दिन्छ । यसपटक ग्रिड कनेक्टिभिटीमा सम्झौता हुन्छ । यसलाई ठूलो उपलब्धिको रुपमा लिन सकिन्छ ।

कनेक्टिभिटीले नेपाललाई के फाइदा हुन्छ ?
धेरै फाइदा छ । पर्याप्त विद्युत उत्पादन भयो भने थाइल्याण्डसम्म बेच्न सकिन्छ । हामीलाई चाहियो भने त्यहाँबाट किन्न पनि सकिन्छ ।

विमस्टेकको प्रभाविकारिता कति देख्नुहुन्छ ?
जति प्रभावकारी बन्नुपथ्र्यो, जीवन्त संगठनको रुपमा अगाडि बढ्नुपथ्र्यो, त्यो हुन सकेको छैन । जनताको अपेक्षा र हामीले गरिरहेको कामबीचमा ग्याप छ । अब यो ग्याप हटाउनुपर्छ । व्यापार र लगानीको दायरा फराकिलो बनाउनका लागि सार्क, विमस्टेक जस्ता संगठनलाई प्रभावकारी बनाउनुपर्छ । नेपाल जस्तो देशका लागि यस्ता संगठनले प्रशस्त प्लेटफर्म दिन्छ ।

काठमाण्डौमा हुने सम्मेलनपछि के अपेक्षा गर्न सकिन्छ ?
काठमाण्डौ सम्मेलन सकिएपछि हामी सबैलाई लक्ष्यभित्र समावेश गर्छ । सम्मेलनपछि विमस्टेक बढि प्रभावकारी हुन्छ । सचिवालयलाई प्रभावकारी बनाउँछौँ । फन्डको स्थापना पनि गर्छौँ । हामी निरन्तर छलफलमा बस्छौँ ।

सार्कको विकल्पको रुपमा विमस्टेकलाई लिन थालिएको हो ?
विल्कुलै होइन । यि दुवै संगठनको फरक फरक महत्व छ । दुइवटैलाई प्रभावकारी बनाएर लैजानुपर्छ ।

भारतका प्रधानमन्त्री चौँथो पटक नेपाल आउँदैहुनुहुन्छ । यसलाई कसरी लिन सकिन्छ ?
नेपाल–भारतबीच विगतमा भएका समस्या समाधान गरेका छौँ । अविश्वास हटाउने सवालमा उल्लेख्य सफलता प्राप्त गरेका छौँ । सहयोगका नयाँ क्षेत्रहरु पहिल्याएका छौँ ।

भारत र चिनबाट काठमाण्डौमा रेल ल्याउने भन्ने कुराको आधार के छ ?
यो मूलतः प्राविधिक कुरा हो । राजनीतिक दृश्टीले त नयाँ नयाँ परिकल्पना अघि सार्ने हो । यसलाई मूर्त रुप दिनका लागि प्राविधिक रुमपा अध्ययन गर्नुपर्छ । चिनबाट रेल ल्याउने कुराको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । अब डेढ वर्षभित्र डिपिआर बन्छ । करिब ८–९ वर्षभित्रमा केरुङबाट काठमाण्डौसम्म रेल ल्याउने योजना सफल हुन्छ । रक्सौलबाट रेल ल्याउने कुरा पनि सात वर्षभित्रमा टुङ्गिन्छ । त्यसपछि नेपालले अर्थतन्त्रमा फड्को मार्छ ।

रेल नेपाल आएर मात्र भएन नि, रेलमा नेपालले के हालेर पठाउने, के बेच्ने भन्ने विषयमा पनि सोच्नुपर्ला नि ?
निश्चय नै, रेल आएर मात्रै हुँदैन । रित्तो रेल फर्काएर नेपाललाई फाइदा हुँदैन । निर्यातका लागि उत्पादन बढाउनेतर्फ पनि सोच्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्