काठमाडौं २१ भदौ । गण्डकी प्रदेशमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुने भएको छ । बिहीबार हुने भेलाका लागि अधिकांश मुख्यमन्त्रीहरु पोखरा आइसकेका छन् । गण्डकी सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठक २४ भदौमा बस्ने लागेको पूर्वसन्ध्यामा देशैभरको प्रदेशका सबै मुख्यमन्त्री पोखरामा भेला हुन लागेको हो।
उनीहरुले अहिलेसम्म प्रदेश सरकारले भोग्नुपरेका समस्या, संघ सरकारसँगका अपेक्षा लगायत विषयमा छलफल गर्नेछन् । परिषद्मा सबै मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा एकै स्वरमा प्रदेशको आवाज उठाउने गरी पोखरा भेलामा छलफल हुनेछ।
संघ सरकारले कानुन निर्माण र कर्मचारी व्यवस्थापन नगरिदिंदा प्रदेशलाई काम गर्न अप्ठेरो परेको गुनासो मुख्यमन्त्रीहरुले गर्दै आएका छन् । यसअघि पोखरामा ७ वटै प्रदेशका मुख्य न्यायाधिवक्ताहरुको भेला भएको थियो । उनीहरुले पनि आफ्नो काम, कर्तव्य र अधिकारबारे साझा धारणा तय गरेका थिए।




प्रतिक्रिया