Logo

चीनका बन्दरगाहलाई नेपालले सहज रुपमा प्रयोग गर्ने



काठमाडौँ । नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ ।बिहीबार यहाँ सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल कार्यविधिको तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको हो । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको थियो ।

सहमतिपछि तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने तेइञ्जीन, सान्झेन, लियानयुगाङ र झान्झेनलगायत खुला सामुद्रिक बन्दरगाह र लान्झाउ, ल्हासा, सिगात्सेलगायत सुख्खा बन्दरगाहमा सहज पहुँच हुनेछ ।

बैठकले उक्त बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रियालगायत पारवहनसम्बन्धी विविध विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भई प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिएको हो । उक्त मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै लागू हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सँैजुले जानकारी दिएका छन ।

भारतको कोलकाता बन्दरगाह नेपालले प्रयोग गर्दा सीमित मार्ग छ । चीनसँगको पारवाहन सम्झौतानुसार चीनका सबै मार्ग नेपालले प्रयोग गर्न कार्यविधिमा उल्लेख छ ।यही भदौ १९ देखि २१ गतेसम्म चलेको बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग मन्त्रालयका सहसचिव सैँजु र चिनियाँ पक्षको नेतृत्व यातायात सेवा विभाग, यातायात मन्त्रालयका महानिर्देशक वाङ सुइपिङले गरेका थिए ।

बैठकमा नेपालका तर्फबाट उद्योग, परराष्ट्र, कानून न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भन्सार विभाग, नेपाली दूतावास बेइजिङ, लगायत पदाधिकारीको सहभागिता थियो । त्यस्तै चिनियाँ पक्षबाट यातायात र परराष्ट्र मन्त्रालय, इञ्जिनीयरिङ सुपरभिजन विभाग, नेशनल रेल्वे एडमिनिस्ट्रेशनलगायत सम्बन्धित निकायका पदाधिकारीको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्