Logo

नयाँ दिल्लीमा प्रचण्डद्धारा मोदी, मुनी र रञ्जित रायको प्रशंसा



काठमाडौं, २३ भदौ । भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एकसाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपाल मामिलाका जानकार एवम् प्राध्यापक एस.डि. मुनी र नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रायको खुलेर प्रशंसा गरेका छन् ।

नयाँ दिल्लीमा आयोजित एक विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले उनीहरुको प्रशंसा गरेका हुन् । नेपालको विकास र समृद्धिप्रति भारतीय प्रधानमन्त्री मोदी गम्भिर रहेको र आफूहरुलाई निरन्तर सहयोग गर्दै आएकोमा प्रचण्डले मोदीको प्रशंसा गरे ।

त्यस्तै प्राध्यापक मुनीलाई त उनले आफ्नो गुरु नै भएको बताए । उनले भने,”एस.डी मुनी गुरुको कारणले म आज यो ठाउँमा आई पुगेको हुँ । उहाँको सुझावले म यहाँ आईपुगेको हुँ । म उहाँप्रति निकै आभारी छु।”

नेपालका लागि पूर्व राजदुत रायले नेपालमा संविधान सभाको चुनावदेखि लिएर संविधान जारी गर्दासम्म प्रत्यक्ष नेपालको राजनीतिक घट्नाक्रमलाई नजिकबाट नियाँलेको र नेपालको चुनावप्रति सहयोगी भूमिका निर्वाह गरेको भन्दै सम्मान प्रकट गरेका थिए ।

आफ्नो भारत भ्रमण अत्यन्तै सफल भएको पनि प्रचण्डले दाबी गरेका छन् । उनले भने, “भ्रमण सफल भयो । म धेरै उत्साहित भएर नेपाल फर्किँदैछु।”



प्रतिक्रिया दिनुहोस्