Logo

अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध अमेरिका किन क्रुद्ध



काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफ्ना नागरिकहरूमाथि मुद्दा चलाएमा अमेरिकाले ऊविरुद्धनै प्रतिबन्धहरू लगाउने चेतावनी दिएको छ।

आईसीसीले अफगानिस्तानमा बन्दीहरूलाई दुर्व्यवहार गरेको आरोपमा अमेरिकी सैनिकहरूलाई मुद्दा चलाउने तयारी गरिरहेको विवरणहरू बाहिर आएका छन् । तर अमेरिकाले त्यस्को कडा आलोचना गरेको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले जन बोल्टनले आईसीसी नै अवैध भएको आरोप लगाउँदै अमेरिकाले आफ्ना नागरिकको सुरक्षा गर्न जे पनि गर्नसक्नेू बताएका छन्।

अमेरिका सन् २००२ मा स्थापित आईसीसीको सदस्य होइन। बोल्टनले लामो समयदेखि आईसीसीको आलोचना गर्दै आएका छन् । गत वर्ष आईसीसीका एक अभियोजनकर्ता फातोउ बेन्सुओदाले अफगानिस्तानमा अमेरिकी सैनिक र गुप्तचर अधिकारी संलग्न भएको सम्भाव्य युद्ध अपराधको पूर्ण अनुसन्धान गर्न अनुरोध गरेका थिए ।

बोल्टनले त्यसविषयमा अफगानिस्तान र आईसीसीको रोम विधानले कुनै अनुरोध नगरेको बताए। उनले आफ्ना सैनिकहरूविरुद्ध अनुसन्धान गरेमा अमेरिकाले आईसीसीविरुद्ध नै प्रतिबन्धहरु लगाइदिने धम्की दिएका छन्।

उनको भनाइमा अमेरिका आइसीसीका अधिकारीहरूविरुद्ध आर्थिक प्रतिबन्ध, यात्रामा अवरोध र फौजदारी मुद्दा लगाउन तयार छ । अर्कोतिर गाजा र अधीनस्त वेस्ट ब्याङ्क क्षेत्रमा इजरेली सेनाले गरेको भनिएको युद्ध अपराधको छानबिन हुनु पर्ने प्यालेस्टिनी मागलाई पनि अमेरिकाले रुचाएको छैन।

बोल्टनका अनुसार प्यालेस्टाइनको त्यहि अनुरोधका कारण उसको वासिङ्टन स्थित नियोग बन्द गर्न आदेश दिइएको हो। प्यालेस्टाइनले अमेरिकी कदमको कडा आलोचना गरेको छ। बीबीसी



प्रतिक्रिया दिनुहोस्