Logo

होटलदेखि निर्मलाको शव भेटिएको स्थानसम्मका सिसि क्यामेरा बिगारिएको खुलासा !



काठमाडौं । भीमदत्त नगरपालिकाले बजार क्षेत्रमा जडान गरेका १६ मध्ये ७ सीसी क्यामेरा एकसाथ बन्द भएको खुलासा भएको छ । साउन १० गतेपछि होटल ओपेरा–उल्टाखाम मार्गका सबै क्यामरा बने । ती क्यामरातर्फ सीआइबी र उच्चस्तरीय समितिको पनि गएन ।

निर्मला हत्याकाण्ड सुनियोजित भएको समाचार आइरहँदा त्यसलाई पुष्टि गर्ने अर्को एक सन्दर्भ उजागर भएको छ । हत्याकाण्डसँगै भीमदत्त नगरपालिकाले बजारक्षेत्रको निगरानीका लागि जडित सीसीटीभी क्यामेरामा समेत छेडखानी भएको हुनसक्ने नयाँ तथ्य सतहमा आएको हो ।

नगरपालिकाले निर्मलाहत्याकाण्डको करिब दुई महिना अगाडि बजारक्षेत्रमा जडान गरेका १६ मध्ये सात क्यामेरा साउन १७ गतेपछि काम नलाग्ने अवस्थामा आउनुले हत्याकाण्ड योजनावद्ध भएको दावीलाई बल मिल्ने देखिएको छ । बन्द भएका ती क्यामेरा होटल ओपरा र निर्मलाको शव पाइएको स्थल जाने बाटोमा जडित रहेको स्रोतको भनाई छ । तर, यसको पुष्टि हुन सकेको छैन ।

यस विषयमा मानसखण्डले जिल्ला प्रहरी कार्यालयमा रहेको नियन्त्रण कक्ष अवलोकन गर्न अनुरोध गर्दा प्रहरीले स्वीकृति दिएन । कञ्चनपुरका प्रहरी प्रमुख कुवेरसिंह कडायतलाई नियन्त्रणकक्ष अवलोकनका लागि अनुरोध गर्दा उनले भने, ‘डीआइजी सापले कानुनअनुसारको प्रक्रियामा गए मात्रै हेर्न दिनु भन्नुभएको छ ।’ एसपी कडायतले निवेदनसहित आएमा केही दिनको प्रक्रिया पु¥याएर नगरका कुन–कुन क्यामेराले काम गरिरहेका छन् भन्ने हेर्न पाइने बताए ।

निर्मलाको हत्या भएको एक साता पछिसम्म चलिरहेको होटल ओपेरा अगाडिको क्यामेरासहित केही अन्य महत्वपूर्ण स्थानका क्यामेरा अचानक अहिले बिग्रेका छन् । एसपी कडायतले होटल ओपेराको गेट सहितको क्षेत्रलाई फोकस गरिएको क्यामेरासहित अन्य क्यामेरा १७ साउनपछि नचलेका बताए ।

१० साउनमा एसपी विष्टका छोरा किरण विष्टले आफ्नो जन्मदिनको अवसरमा साथीहरुसहित फोटोसुट गरेको भनिएको होटल ओपेराको सीसीटीभी क्यामेराको हार्डडिस्कको क्षमता १५ दिनसम्म मात्रै भएकोले त्यसदिनको रेकर्ड मेटिएको बताइएको छ । तर, नगरपालिकाले जडान गरेका क्यामेरा अचानक कसरी बिग्रियो नयाँ भन्ने प्रश्न उठेको छ ।

नगरपालिकाले जडान गरेको क्यामेराले ओपेराको गेटको दायाँ–बायाँ पाँच–पाँच मिटर फोकस गरेपनि १७ साउनपछि त्यो क्यामेरा नचलेको एसपी कडायतले बताए । सो क्यामेरा भीमदत्तका मेयर सुरेन्द्र विष्टको घर अगाडि जडान गरिएको छ ।

१७ साउन अगाडि भने त्यो क्यामेरा चालु रहेको एसपी कडायतको भनाई छ । उनले बलात्कारपछि हत्याको घटना हुँदासमेत प्रहरीले १० र ११ साउनका दिन नगरका सीसीटीभी क्यामेराको फुटेज सुरक्षित नराखेको स्वीकारे । ठूला घटना भएका बेला उपयोगी हुने विश्वासका साथ जडान गरिएका क्यामेरातर्फ प्रहरीले ध्यान नदिएको हो वा जानीजानी फुटेज सुरक्षित नराखिएको भन्नेबारे आफूले केही भन्न नसक्ने एसपी कडायतको जिकिर छ । एसपी कडायत जिल्लाका प्रमुख भएर ८ भदौमा मात्रै कञ्चनपुर आएका हुन् ।

नगरपालिकाले झण्डै २० लाख रुपैयाँको लागतमा बजारक्षेत्रमा १६ क्यामेरा जडान गरेको छ । ती क्यामेरालाई रातको समयमा पनि काम गर्नसक्ने अर्थात् ‘नाइटभिजन क्यामेरा’ बताइएको थियो । क्यामेरा जडान गर्ने ठेक्का पाएको उग्रतारा ट्रेडर्सले जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष राखिएको सो नेटर्कको स्टोरेज क्षमता ६ टीबी भएको बताएको छ । सो क्षमताको हार्डडिस्कमा झण्डै ३० दिनको डाटा सुरक्षित रहने उग्रताराले बताए पनि एसपी कडायतले १३ दिनको डाटा मात्रै सुरक्षित हुने बताए ।

एसपी विष्टका छोरा किरण विष्टले १० साउनका दिन परेको आफ्नो जन्मदिनको अवसरमा साथीहरुसहित होटेल ओपेरामा फोटोसुट गरेको बयान दिएपछि ओपेराको सीसीटभिी फुटेज खोजिएको थियो तर उच्चस्तरीय समिति भदौ ८ मा महेन्द्रनगर आउँदा स्टोरेज क्षमताका कारण ओपेराको त्यो फुटेज स्वतः मेटिएको थियो ।

होटेल ओपराले सो दिन किरणसँगै अन्य दुई युवक र तीन युवती होटलमा आएको जानकारी प्रहरीलाई उपलब्ध गराएको छ । निर्मलाका आमा–बुवाले तीनमध्ये एक आफ्नी छोरी निर्मला भएको आशंका गरेका छन् । तर, किरणले निर्मलालाई आफूले नचिनेको बताएका छन् ।

किरणसँग सो होटेलमा अरु को आएका थिए भन्ने एकिन गर्न नगरपालिकाद्वारा जडित क्यामेरा सहयोगी सावित हुने भए पनि त्यसतर्फ उच्चस्तरीय समितिको समेत ध्यान जान नसकेको पाइएको छ । एक महिनाको स्टोरेज क्षमता भएको नेटवर्कतर्फ ध्यान गएको भए किरणसँग सो दिन को थिए भन्ने थाहा पाउन कठीन हुने थिएन । उच्चस्तरीय समितिले ८ भदौबाटै काम सुरु गरेको थियो । त्यतिबेलासम्म नगरपालिकाको नेटवर्कको सीसीटीभी फुटेज सुरक्षित हुनसक्थ्यो ।

१७ साउनपछि कुन–कुन क्यामेरा बेकामे भए भन्ने एसपी कडायतले बताउन नसके पनि जिल्ला प्रहरी कार्यालय स्रोतले ओपेरा–उल्टाखाम निर्मलाको घर तथा शव पाइएको स्थल जाने दुबैतर्फका सडमा जडित सबै क्यामेरा बिग्रेका बताएको छ । ती क्यामेरा १० साउनपछि बिग्रका पनि स्रोतको कथन छ ।

होटल ओपेरा–उल्टाखाम जाने सब्जीमण्डी र मदनचोक दुबैतर्फका क्यामेरा १७ साउन पनि नचलेका स्रोतको भनाइ छ । मेनरोडका क्यामेरा पनि बेकामे अवस्थामा रहेको बताइएको छ । अन्यक्षेत्रका क्यामेराले भने अहिले पनि काम गरिरहेका छन् ।

१० साउनपछि एकैचोटी ती क्यामरा कसरी बिग्रे, बलात्कारपछि हत्याको घटना हुँदा पनि प्रहरीले नगरको फुटेज किन सुरक्षित राखेन, सीआइबी डिएसपी अंगुर जीसी र उच्चस्तरीय छानविन समितको ध्यान नगरको सीसीटीभी नेटवर्कतर्फ किन गएन भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । डिएसपी जीसीको टोली घटनाको चौथो दिन महेन्द्रनगर पुगेको थियो ।-मानसखण्ड



प्रतिक्रिया दिनुहोस्