Logo

पूरा होलान त मडुरोले पाएका चिनीया आश्वासन ?



काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले तेल उद्योगमा लगानी बढाउन चीनले व्यक्त गरेको नयाँ प्रतिबद्धताबाट आफू उत्साहित भएको बताएका छन।मुलुकको अर्थतन्त्र मुख्यरुपमा तेलमा आश्रित रहेको भेनेजुएलामा विगत तीन दशकमा तेल उत्पादनमा लगानी वृद्धि हुन सकेको छैन ।

विश्लेषकहरुले सरकारले तेल उत्खनन र प्रशोधनका क्षेत्रमा पर्याप्त ध्यान नदिँदा राज्य सञ्चालित पीडीभीएसएको पूर्वाधार कमजोर अवस्थामा पुगेको छ र तेलको खोजमा लगानी हुन सकेको छैन । तेलबाट आर्जित राजश्व वित्तीय घाटाको व्यवस्थापनमा मात्र प्रयोग गर्नुपर्ने अवस्था छ ।

चीनको भ्रमणमा रहेका राष्ट्रपति मडुरोले राज्य सञ्चालित टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने, “तेलको उत्पादन, सुनको उत्पादनका साथै ५०० भन्दा बढी विकास परियोजनामा वित्तीय लगानी गर्ने चीनको प्रतिबद्धता आएको छ ।”राष्ट्रपति मडुरो शुक्रबारदेखि बेइजिङको भ्रमणमा रहेका छन।

मडुरोलाई चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा स्वागत गरेका थिए । उनले चिनीया विकास बैंक र चिनीया राष्ट्रिय पेट्रोलियम निगमका पदाधिकारीसँग भेटघाट गरेका छन ।

बेइजिङबाट यसअघि नै ५० अर्ब अमेरिकी डलर ऋण लिएको भेनेजुएलाले अझै २० अर्ब डलर भुक्तानी गर्न बाँकी छ । भेनेजुएलाले चीनलाई तेल बिक्री गरी ऋणको भुक्तानी पनि गरिरहेको छ । चीनले भेनेजुएलालाई उपलब्ध गराएको ऋणको भुक्तानीमा सन् २०१६ देखि केही लचक नीति लिएको छ ।

मडुरोले थप ऋण वा भुक्तानीका बारेमा वा अरु ५ अर्ब डलर ऋणका बारेमा छलफल भए नभएको केही खुलाएका छैनन् ।भेनेजुएलाको इकोएनालिटीकाले राष्ट्रपति मडुरो थप ५ अर्ब डलर ऋण लिएर चीनबाट फर्किने सम्भावना रहेको जनाएको छ । साथै भुक्तानी गर्नुपर्ने ऋणको समयसीमा समेत वृद्धि हुनेछ ।

भेनेजुएला र यसको राज्य सञ्चालित कम्पनी पीडीभीएसएलाई सन् २०१७ मा ऋण नतिरेको आरोपमा आंशिक रुपमा कालोसूचीमा राखिएको थियो ।शुक्रबार राष्ट्रपतिले ऊर्जा र खनिज उत्खनन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थिए । श्री मडुरोले यी परियोजनाका लागि चीनबाट अर्बौं डलर लगानी हुने अपेक्षा गरिएको जानकारी गराए।

भेनेजुएलाको कच्चा तेल उत्पादन अगष्ट महिनामा प्रतिदिन १४ लाख ब्यारेल थियो । सन् २००२ र २००३ यता यो नै सबैभन्दा न्यून उत्पादन हो । भेनेजुएलाको कूल राष्ट्रिय आम्दानीको ९६ प्रतिशत तेलले ओगटेको छ ।

मडुरोको सरकारले अर्थतन्त्र धरासायी हुनबाट रोक्नका लागि मुद्राको अवमूल्यन गरेको थियो । भेनेजुएलाका १६ लाखभन्दा बढी मानिस खाद्यान्न र औषधिको अभाव भएपछि आफ्नो देश छाडेर दक्षिण अमेरिकाकै अन्य मुलुकमा पलायन भएका छन् ।

शनिबार काराकासमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकन स्टेट अर्गनाइजेसनका प्रमुख लुइस अल्माग्रोले दिएको चेतावनीका विरुद्धमा राष्ट्रसंघ समक्ष आवाज उठाउने बताएका छन । भेनेजुएलाका नागरिकले मडुरो सरकारका कारण दुःख पाएको भन्दै अल्माग्रोले भेनेजुएलामा सैनिक हस्तक्षेप आवश्यक रहेको जानकारी गराए।

राष्ट्रपति मडुरोले संयुक्तराज्य अमेरिकाका कारण आफ्नो मुलुकले विभिन्न समस्या झेल्नुपरेको आरोप लगाउँदै आएका छन।



प्रतिक्रिया दिनुहोस्