Logo

निर्मला हत्याको दोषी पत्ता लगाउन प्रहरीबाटै अनुशन्धान सुरु गर्नुपर्छ : पाठक



काठमाडौं, ३१ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुशन्धान सुरु गर्नुपर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘घट्ना भएको आज ५२ दिन भैसक्यो । तर, अहिलेसम्म प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सकेको छैन् । प्रहरीको अनुशन्धानप्रति पनि अहिले जनताको विश्वास गुमेको छ । त्यसैले प्रहरीबाटै अनुशन्धान सुरु गर्नुपर्छ ।’

नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले नै अनुशन्धानमा प्रहरीबाट कमजोरी भएको स्वीकार गरिससकेपछि अनुशन्धान प्रक्रियामा सुधार गर्नुपर्ने भएपनि त्यसो नगरिएको उनको गुनासो छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘यस्ता किसिमका घट्नाको अनुशन्धान गर्न नेपाल प्रहरीले दक्ष, स्रोधसाधनयुक्त र निर्भिक प्रहरी युनिट गठन गर्नुपर्छ । टा«फिक, र शान्तिसुरक्षा लगायतका सबै कुरा एउटै प्रहरीबाट सम्भव हुँदैन् । यसको लागि छुट्टै युनिट गठन गर्नुपर्छ ।’

उनले निर्मला पन्तको हत्या घट्नाबारे डिएनए टेष्ट गर्न छुट्टै फोरेन्सिक विज्ञ चिकित्सकहरु बाहिरबाट झिकाउनुपर्ने माग गरे । उनले भने,‘छानबिनको लागि डिआईजीभन्दा माथिल्लो नेतृत्वको प्रहरी अधिकारी सम्मिलित अनुशन्धानमा विशिष्ट विज्ञ समिति बनाउनुपर्छ ।’

पछिल्लो समय मुलुकमा बलात्कारलगायत मानव अधिकार विरुद्धका घट्नाहरु बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थामा प्रहरी कहाँ छ? र सरकार कहाँ छ भन्दै प्रश्न गरे । उनले भने,‘एउटा घट्नाको पीडित कञ्चनपुरबाट न्याय माग्न काठमाडौं आउनुपर्ने ? प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्नुपर्ने ? त्यसमापनि समय नदिने ? मानव अधिकार, कानुनी शासन र न्याय भन्ने कुरा यही हो ?’

निर्मलाको बलात्कारपछिको हत्या प्रकरणमा आफूहरुले निरन्तर अनुशन्धान गरिरहेको टोली र सरकारले गठन गरेको समितिको अनुशन्धान प्रक्रियामाथिपनि निगरानी गरिरहेको पाठकको भनाई छ । उनले भने,‘यसको लागि हामीले गृहमन्त्री र प्रहरी महानिरिक्षकसँग आयोगमै बोलाएर छलफल गर्ने तयारी गरेका छौं । सम्भवतः भोलि उहाँहरुसँग छलफल हुन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्