Logo

‘अहिलेसम्म वास्तविक दोषी पत्ता लगाउन नसक्नु दुःखद्’



काठमाडौं, ३१ भदौ । सत्तारुढ दल नेकपाका सांसद डा. दिपक प्रकाश भट्टले निर्मला पन्त हत्याको वास्तविक अपराधीलाई सार्वजनिक गरेर कडा कारबाही गर्नुपर्ने बताए ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूले यस घट्नाबारे प्रधानमन्त्रीलाई गलत ‘बिफ्रिङ’ गरेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारे । भट्टले अघि भने,‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको घट्नाको बारेमा राज्य गम्भिर बन्नुपर्छ । सरकारले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । घट्नाको बारेमा अहिले जे जस्ता कुराहरु आईरहेका छन्, यसबारेमा पनि छानबिन हुनुपर्छ ।’

उक्त क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले निर्मलाको न्यायको लागि निरन्तर आवाज उठाईरहेको पनि उनले स्पष्ट पारे । घट्ना भएको यतिका दिन बित्दापनि अहिलेसम्म वास्तविक दोषी पत्ता लगाउन नसक्नु दुःखद् भएको बताउँदै उनले अनुशन्धानमा लापरवाही भएको गुनासो पोखे ।

उनले भने,‘अनुशन्धानमा प्रहरीको भूमिका गैरजिम्मेवारीपूर्ण देखियो । अहिले नेपाल प्रहरीको मनोबल गिरेको छ ।’ भट्टले अपराधीलाई कुनैपनि हालतमा बचाउन नहुने धारणा राखे । उनले आफू निर्मलाको आमा–बुवालाई न्यायको निम्ति जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्