Logo

उर्लाबारीमा रक्तसञ्चार सेवा



मोरङ । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले यहाँ पहिलो पटक रक्तसञ्चार सेवा ब्लड बैंक शुरु गरेको छ ।गत साउन पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो सेवाको उद्घाटन गरेका छन ।

आवश्यक पूर्वाधार नहुँदा झण्डै दुई महिनापछि मात्र उपशाखाले सोमबारदेखि उक्त सेवा दिन थालेको हो । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा शुरु भएको सो सेवाले पूर्वी मोरङका बिरामी लाभान्वित हुने उर्लाबारी उपशाखाका सभापति मदनबाबु प्रसार्इंले जानकारी गराएका छन ।

सेवा सञ्चालनका लागि उर्लाबारी नगरपालिका, सगरमाथा बचत तथा ऋण सहकारी संस्था, पवित्र बचत तथा ऋण सहकारी संस्थालगायतले सहयोग गर्दै आएका छन् । बिरामीले स्थानीय अस्पतालमा उपचार गराउँदा रगत लिन बिराटनगर जानुपर्ने बाध्यता थियो ।

क्षयरोगीलाई पोषण

मोरङको पथरीशनिश्चरे नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाले नगरका क्षयरोगीका लागि रोगविरुद्ध लड्ने क्षमताको विकास गर्न पौष्टिक तत्व प्रदान गर्ने अभियान थालेको छ । नगर प्रमुख दिलीपकुमार राईका अनुसार यस वर्ष उपचारका लागि आउने क्षयरोगीलाई स्वास्थ्यकर्मीको निगरानीमा दुई महिनासम्म दैनिक औषधिसहित फलफूल खुवाइने छ । नगरपालिकामा हाल ६७ क्षयरोगी रहेका छन् ।

आरामगृह निर्माण

मोरङको उर्लाबारी नगरपालिका– ६ मा ज्येष्ठ नागरिक परोपकार आरामगृह निर्माण गरिएको छ । उर्लाबारी नगरपालिकाको रु दुई लाख तथा र अन्य सहयोगी दाताबाट प्राप्त रु सात लाख ८३ हजारको लागतमा सो आरामगृह गृह निर्माण गरिएको हो ।

निर्माण समितिका संयोजक गजेन्द्र दङ्गालका अनुसार जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिक एउटै ठाउँमा भेला भई भलाकुसारी गर्न सहज होस भनेर उक्त गृह निर्माण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्