Logo

मन्त्री विष्टले गरे कतारसमक्ष यस्तो प्रस्ताव



काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शून्य लागतमा कामदार पठाउनका लागि सरकारी संयन्त्र तयार गरी कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्न कतारसमक्ष प्रस्ताव राखेको छ ।

वैदेशिक रोजगार व्यवसायीबाट कामदार ठगीमा परेको भन्दै शून्य लागतमा कामदार पठाउन दुई देशको संयन्त्र आवश्यक भएको श्रम मन्त्रालयले जनाएको छ ।
नेपालका लागि कतारका राजदूत युसुफ विन मोहमिद अल हैलीसँग मंगलबार भएको शिष्टाचार भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले छलफल गर्न प्राविधिक बैठकका लागि नेपालको तर्फबाट एउटा टोली कतार पठाउन तयार रहेको बताएका थिए ।

नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता पुनरावलोकन भइरहेको छ । कतार पनि यथाशक्य छिटो श्रम सम्झौता गर्ने पक्षमा देखिन्छ ।

कतारले काठमाडौंमा कामदारको स्वास्थ्य परीक्षण, फिंगरिङ, करारपत्र प्रमाणीकरण गर्नका लागि एउटा संयन्त्र बनाउने घोषणा गरिसकेको छ । जसका लागि कतारले शुल्क बुझाउनु नपर्ने कतार सरकारको दाबी छ ।

मन्त्री विष्टले नयाँ ढंगले श्रम सम्झौता गरी नेपाली श्रमिकको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कतार जाने नेपाली कामदारको न्यूनतम तलब नेपाल सरकारले १२ सय रियाल निर्धारण गरेको छ । तर कतार सरकारले तलब तोकेको छैन । कतारले ७ सय ५० रियाल भन्दा कमको करारपत्रमा प्रमाणीकरण गरेको छैन ।

मन्त्री विष्टले कामदारको सुरक्षाका लागि २४ घण्टाको बिमा सुविधा निकै आवश्यक रहेकोमा जोड दिएका छन् ।

राजदुत हैलीले कामदारको शून्य लागतको विषयमा कतार सरकार सकारात्मक रहेको वताउँदै कामदारको सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको बताए ।

कतारमा झन्डै चार लाख नेपाली कामदार कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्