Logo

निर्मला हत्या प्रकरणःएसपी बिष्टको डिएनए रिपोर्टमा ढिलाई, गायब भए बुढाऐर !



काठमाडौं । निर्मला हत्याकाण्डको अनुसन्धानमा नेपाल प्रहरीले बाहिरी रुपमा सक्रियता देखाइरहेको भए पनि अन्तर्यमा नेपाल प्रहरीले नै केही तथ्य लुकाउने प्रयास गरिरहेको पाइएको छ ।

निर्मलाको भजाइनल स्वाबबाट बलात्कारीको डिएनए ग्रो गर्न सफलता मिलेपछि जागेको आशा अहिले भने मर्न लागेको देखिन्छ । मानसिक रुपमा असन्तुलित दिलिप विष्ट र अर्का युवक चक्रदेव वडूको डिएनए निर्मलाको योनीबाट संकलित स्राब भजाइनल स्वाबमा पाइएको डिएनएसँग नमिलेको तथ्य प्रकाशमा आएपछि बढेको जनदवावका कारण प्रहरीले एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र आयुस विष्टको डिएनए परीक्षणका लागि रगतको नमुना लिएको थियो ।

ती तीनजनाको मात्रै रगतको नमुना लिएर त्यो क्रम रोकेसँगै सिंगो प्रहरी संगठन कै नियतमा प्रश्न उठ्न थालेको छ । निर्मलाको हत्या भएको दिन १० साउनमा किरणसँगै होटल ओपेरामा देखिएका तेस्रो युवकको खोजीमा भने प्रहरी उदाशिीन देखिएको छ । प्रहरीले अनुसन्धानकै क्रममा अन्य तीनजना युवकलाई पनि शंकाको घेरामा राखेको थियो । तर, उनीहरुको रगतको नमुना लिइएको छैन ।

निर्मलाको भनिएको भजाइनल स्वाब नक्कली हुने सम्भावना रहेको भए पनि अहिलेसम्म प्रहरीले जनतालाई विश्वासमा लिन त्यसबारेमा तथ्य सार्वजनिक गरेको छैन ।

पोष्टमार्टममा संलग्न चिकित्सक, भजाइनल स्वाब संकलन गरी राखिएको कन्टेनरको शिलबन्दीको मुचुकल्का, त्यो कन्टेनगरमा तापक्रम सुनिश्चित हुने ग्यारेन्टी, त्यो कन्टेनर प्रयोगशालामा पठाइएको मिति र प्रयोगशालाले त्यो कन्टेनर दुरुस्त पाएको दसीप्रमाण बारे प्रहरीले तथ्य सार्वजनिक नगर्दा वातावरण आशंकापूर्ण बन्दै गएको छ ।

किरणसँगै होटेल ओपेरामा देखिएका भीमदत्त नगरपालिका वडा नं। २ बस्ने बुढाऐर थरका युवक केही दिनयता वेपत्ता छन् । उनी १० साउनमा किरणसँगै होटल ओपेरा गएका थिए ।

उनलाई अहिले नेपालगञ्जमा लुकाइएको सूचना प्राप्त भएको छ । मोबाइल मर्मत गरी घरखर्च धान्ने ती युवकको खोजी गरी डिएनए परीक्षण गर्न प्रहरीले अहिलेसम्म कुनै पहल गरेको छैन ।

स्रोतहरुबाट प्राप्त जानकारी अनुसार बुढाऐरलाई अपराध स्वीकार गराउनका लागि प्रयास भइरहेको छ । उनले अपराध स्वीकार गरेमा डिएनए परीक्षण विनै उनीमाथि अभियोग लगाउने योजना पनि बनेको स्रोतको कथन छ ।

किरणले प्रहरीमा १० साउनमा बुढाऐर र आफू होटल ओपेरामा गएको बताए पनि अहिलेसम्म राजनलाई अनुसन्धानको घेरामा ल्याएर डीएनए परीक्षण गर्नेतर्फ प्रहरीले ध्यान दिएको पाइएको छैन ।

राजन गरिब बाबुआमाका छोरा हुन् । महेन्द्रनगरमा मोबाइल पसलमा काम गरी उनले घरखर्च जोहो गर्दै आएका थिए । विगत करिब एक महिनादेखि उनी बेपत्ता रहेको उनलाई चिन्नेहरु बताउँछन् ।

प्रहरीले हत्याकाण्डको आशंकामा दर्जनौं व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएको भए पनि तीनजनाको मात्रै डिएनए परीक्षण गरी त्यो प्रक्रिया रोकिनु आश्चर्यजनक मानिएको छ । कम्तीमा बुढाऐरको खोजी गरी डिएनए परीक्षण गर्नुपर्नेमा प्रहरीले चासो नदिनुलाई पनि रहस्यमयी मानिएको छ ।

महाकाली अञ्चल अस्पतालको स्रोतका अनुसार निर्मलाको भजाइनल स्वाबको संकलन र भण्डारणमा पनि शंका गर्न सकिने केही संकेत पाइएका छन् । स्रोतले निर्मलाको भजाइनल स्वाबमैं छेडखानीकोे सम्भावना औंल्याएको छ । चिकित्सकले स्वाब संकलन गरी कन्टेनरमा राखेपछि तत्काल शील नगरिएको पनि स्रोतले बताएको छ ।

स्वाब सुरक्षित राख्नका लागि आवश्यक माइनस २० डिग्रीको तापक्रमयुक्त किट पनि प्रयोग नगरिएको स्रोतको दावी छ ।
बुढाऐरलाई अनुसन्धानको दायराभन्दा बाहिर राखेर लुकाइनुले रहस्य गहिरिंदै गएको छ । अर्कोतिर, डिएनए परीक्षणका लागि रगतको नमुना दिएपछि एसपी विष्ट खुल्न थालेका छन् । उनमा आत्मविश्वास बढेको झलक पाइन्छ ।

अहिले उनी मिडियामा अन्तर्वार्ता समेत दिन थालेका छन् । बुढाऐरलाई पक्राउ गरी सोधपुछ गरिए वास्तविकता खुल्ने देखिन्छ । तर, अपहरणको शैलीमा बुढाऐरलाई लुकाइएको हुँदा उनको खोजी पनि कठीन बनेको प्रहरी स्रोतको कथन छ । मानसखण्ड



प्रतिक्रिया दिनुहोस्