Logo

एकचोटी सभापति हुनेहरुले सँधैभरि सभापति मै हुन्छु भन्ने अहंकार र स्वप्न देखेका छन्, त्यो स्वप्न महाधिवेशनले नै भोलि टुँगो लगाउँछ : केसी (भिडियो)



काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दापनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढि चूनौति रहेको बताएका छन ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कांग्रेसलाई अरुबाट चूनौति छैन् । आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चूनौति छ । ती सबै कुसंस्कारलाई सुधार गर्नुपर्छ ।’

मुलुक संघीय संरचनामा गैसकेकोले अब विधान बनाउन मस्यौता समिति गठन भएको र समितिले प्रारम्भिक मस्यौदा तयार पारेको केसीले सुनाए । उनले भने,‘अब ७ वटै प्रदेशमा १२ वटा भेला हुँदैछ ।’ कांग्रेसको लागि अहिलेसम्मकै जटिलत् एवम् चूनौतिपूर्ण कालखण्ड भएकोले पार्टी अब नेतामुखी नभएर जनतामुखी र संस्थामुखी हुनुपर्ने पनि केसीले बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘पार्टीलाई सामूहिक नेतृत्व पद्वतीमा लैजानुपर्छ । निर्वाचन पद्वतीबाट पदाधिकारी नियुक्त गर्नुपर्छ । अबपनि पार्टी हुकुमी शैलीबाट चल्न सक्दैन् । गुट/उपगुट, गिरोह/उपगिरोहको अब काम छैन् । पार्टीभित्र १५ प्रतिशतमात्रै मनोनित गर्नुपर्छ । अरु सबैमा निर्वाचन पद्वतीबाट टुँगो लगाउनुपर्छ ।’

१२ औं महाधिवेशन हुँदै गर्दा आफू पार्टीको सह–महामन्त्री र प्रवक्ता रहेको उल्लेख गर्दै नेता केसीले त्यतिवेलाको कुरा सुनाए,‘सभापति गिरिजाबाबुले सबैभन्दा पहिले भाषण गरेर नै उद्धघाट्न गर्नुभयो । त्यो बेलामा पनि मैले यो पार्टीलाई सामुहिक नेतृत्वबाट नै लैजानुपर्छ भनेको थिएँ । तर, गिरिजाबाबुले विपीले बनाएको विधान हो, सभापति पद्धतीबाटै पार्टीलाई लैजानुपर्छ भन्नुयो । फेरीपनि मैले असहमति राखेको थिएँ ।’

नेकपामा पदाधिकारीमात्रै नभएर निर्वाचन समिति र अनुशासन समितिमा पनि निर्वाचनमार्फत पदाधिकारी चयन गरिने गरेको उल्लेख गर्दै नेता केसीले भने,‘हामीभन्दा धेरै पछाडि स्थापित भएको नेपाल कम्युनिष्ट पार्टी, जो सर्वहरा अधिनायकवाद स्थापनाका निम्ति गठन भयो । जुन पार्टी स्वयम् लोकतन्त्रका लागि होईन लोकतन्त्रको विकल्पको रुपमा स्थापित भएको थियो । त्यो पार्टीभित्र २०७१ सालको विधानले उनीहरु सम्पूर्ण पदाधिकारी निर्वाचन गर्छन् । अनुशासन आयोग निर्वाचन गर्छन् । निर्वाचन आयोग निर्वाचन गर्छन् । नेकपामा १० प्रतिशतमात्रै मनोनित हुन्छ ।

त्यो पनि केन्द्रिय कार्यसमितिले मनोनित गर्छ । हामी लोकतान्त्रिक पार्टीमा भने एउटा व्यक्तिले मनोनित गर्छ । शक्ति धेरै भयो भने मान्छे अन्धो हुन्छ । अत्यन्तै धेरै शक्ति भयो भने त महाअन्धो हुन्छ । त्यसैले अब पार्टीको अनुशासन समितिका सदस्यहरुपनि निर्वाचनमार्फत नै चयन गर्नुपर्छ । निर्वाचनदेखि किन डराउने ? जनप्रतिनिधिहरुको मत लिन किन डराउनु ?’

एउटा व्यक्तिलाई सिंगारेर बलियो बनाउने पद्धती लिनु सर्वथा गलत हुने उनको तर्क छ । लोकतन्त्रलाई अझै मजबुद र सशक्त बनाउने प्रक्रियामा पार्टीको विधानमा निर्वाचन गर्ने र निर्वाचित प्रतिनिधिहरुबाट (महाधिवेशनबाट) नै पदाधिकारी, संसदीय समिति र अनुशासन समितिजस्ता समितिहरु निर्माण हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको केसीले बताए ।

अधिकार नभएर काम गर्न सकिएन भनेर सभापतिले भनेको आफूले सुनेको बताउँदै उनले भने,‘गर्न खोज्ने सभापतिलाई अधिकारले रोक्दैन् । कम्युनिष्ट पार्टीमा अहिलेपनि १० प्रतिशित मनोनित हुन्छ । त्यो पनि केन्द्रिय कार्य समितिबाट हुन्छ । तरपनि खोई काम गर्न त रोकिएको त छैन। धेरै व्यक्ति, धेरै विचार हुन्छ । विचारको घर्षणबाट लोकतन्त्र चल्छ । त्यसकारण निर्वाचन पद्धतीमात्रै उपर्युक्त पद्धती हो । यसलेमात्रै अहिले देखिएका चूनौतिहरुको समाधान गर्न सक्छ । अहिलेका अप्ठ्याराहरुलाई पार गर्न सक्छ । र, त्यसले मात्रै युवा प्रतिनिधि र युवा नेतृत्वको विकास हुन सक्छ ।’

नेता केसीले अहिले पार्टीभित्र युवा नेतृत्वको विकासको कुरा धेरै चलिरहेको सुनाउँदै भने,‘यदि सम्पूर्ण युवाहरु जो निर्वाचित भएर नेतृत्वमा आउनुभएको छ, मनोनितमा कति युवा व्यक्तित्वहरु पुगेका छन्् ? किनभने मनोनित होईन, जनप्रियता हाँसिल गरेका सक्षम युवाहरुलाई पनि पदाधिकारी बन्ने निम्ति, संसदीय समितिमा पुग्नको निम्तिपनि निर्वाचित प्रथा सबैभन्दा उपयुक्त प्रथा हो । त्यसकारण अहिलेको बेलामा हामीले त्यो बासी बानी, बासी विचार र परम्परागत दृष्टिकोणभन्दापनि सामाजिक न्याय, सामाजिक सुरक्षा, र देशको आवश्यकत्तालाई हेरेर सबै पक्षको बीचमा पाटर्नसिप र सहयात्रा हुनुपर्छ ।’

उनले पार्टीभित्र एउटा व्यक्तिलाई बलियो बनाएर र त्यो व्यक्तिको वरपर घुमेर आफ्नो शक्ति जमाउने खालको मनोवृत्तिबाट अब पार्टी चल्न नसक्ने स्पष्ट पारे । ‘ज्यादै बढ्दा भक्ति भयो भने त्यो चोरसे लक्षणम् हुन्छ’–केसीले भने,‘अहिले त्यही ढंगका प्रवृत्तिहरु देखिएका छन्, त्यसलाई नियन्त्रण गर्नको निम्तिपनि व्यापक रुपमा जनप्रतिनिधिहरुको बीचमा चुनाव लड्नुपर्छ ।’

उनले कहीँ कतै क्षेत्रको प्रतिनिधित्व छुट्यो, जातीय सन्तुलन छुट्यो वा महिलाको प्रतिनिधित्व छुट्यो भने १५ प्रतिशतसम्ममात्रै मनोनित गर्न सकिने प्रावधान राख्नुपर्ने बताए ।

गिरिजा हुँदा र सुशिल कोइराला हुँदापनि पनि सभापति पद्धतीको कुरा गरेको उल्लेख गर्दै उनले भने,‘देउवाजीमात्रै होईन, एकचोटी सभापति हुनेहरुले सँधैभरि सभापति मै हुन्छु भन्ने अहंकार र स्वप्न देखेका छन्, त्यो स्वप्न महाधिवेशनले नै भोलि टुँगो लगाउँछ । म कसैको पक्ष र विपक्षमा भन्दिन्। तर महाधिवेशनबाट कुनैपनि पदाधिकारीमा जित्यो भने त्यो कुरा मैले पार्टीको जिम्मेवार कार्यकर्ताको हैसियतले स्विकार गर्नुपर्छ ।’

पार्टीमा एउटै विचार जसले जे राख्छ त्यसैलाईमात्रै मानेर हिँड्नु भनेको अधिनायवादी शासन पद्धती हुने बताउँदै भने,‘अधिनायवादको दुर्गन्धित वातावरणबाट पार्टीलाई सम्पूर्ण रुपबाट मुक्त गराउन निर्वाचन पद्धतीबाट पदाधिकारी, निर्वाचन समिति, अनुशासन समिति सबै निर्वाचित गर्नुपर्छ । अहिले विधानको कुरामा मेरो यही हो दृष्टिकोण ।’

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज ७ महिना ५ दिन भएको उल्लेख गर्दै यो बीचमा ठूला–ठूला भ्रमको खेती भएको र झुठका पुलिन्दा बाँडिएको गुनासो पोखे । उनले भने,‘हुन त यो अवधिमै सरकारको मुल्यांकन गर्ने बेला होईन, तर पनि हुने बिरुवाको चिल्लो पात भनेजस्तो, अहिले त्यो चिल्लो पात देखिएन् । खस्रो पात देखियो ।’

नेता केसीले भने,‘अहिले ५ हप्ता हुन लाग्यो, यो बीचमा झण्डै ३७ जना महिलाहरु जहाँ ७ महिनाको बालिकादेखि ८३ वर्षको बृद्धाको समेत बलात्कार भएको छ । बलात्कार, हत्या, हिंसा र अपाराधिक गतिविधिहरु यसरी बढेको छ, तर सरकारले अपराधीहरु पत्ता लगाउन सकेको छैन । दुई तिहाईको सरकार छ । नेपालको ईतिहाँसमा विपी कोइरालापछि यति शक्तिशाली सरकार पहिलो चोटी निर्माण भएको छ । तर, यसको निम्ति सरकारले आफ्नो निम्ति आँफैले लज्जा मान्नुपर्ने स्थिति छ ।’

सत्तारुढ दलकै बरिष्ठ नेताहरुले आफ्नो पार्टीलाई बिर्गानको निम्ति षड्यन्त्र भैरहेको भनेर टिप्पणी गरेको प्रसँग उल्लेख गर्दै उनले भने,‘बलात्कार र हत्या गर्न कोही जान्छ, षडयन्त्र गर्न ? यस्ता अभिव्यक्तिलाई एउटा सत्तारुढ दलको अभिव्यक्तिलाई मान्ने कि नमान्ने ? कहिले अरिंगाल भन्नुहुन्छ, हिजोमात्रै मौरी बन्नुपर्छ भन्नुहुन्छ । त्यसकारण उहाँहरुको बोलीलाई नियन्त्रण गर्नुपर्ने सबैभन्दा पहिलो आवश्यकत्ता छ ।’

वर्तमान प्रधानमन्त्री ओली हिजो प्रतिपक्षमा हुँदा बोलेका कुरालाई जनताले राम्रै भन्ने गरेपनि अहिले ओली मुलुकको प्रधानमन्त्री भएकोले आफ्नो बोलीलाई नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ । उहाँ सबै पार्टीको प्रधानमन्त्री हो । अब छिसिक्क घोच्ने काम बन्द गर्नुपर्छ । बोलीमा नम्रता र धैर्यता हुनुपर्छ । संयम भएर बोल्नुपर्छ ।’

नेता केसीले काठमाडौं महानगरपालिकाले मेयर पाएको १८ महिना बितिसक्दापनि अहिलेसम्म महानगरका विकासमा केही परिवर्तन नभएको पनि आरोप लगाए । उनले भने,‘हिजो निर्वाचनको बेला जनतासामू गरेका प्रतिबद्धताहरु खोई त पूरा गरेको ? अब पत्रकाहरुले यस्ता विषयमा अलिक बढि चनाखो भएर आफ्ना समाचार सामाग्रीहरु पस्कनुपर्छ ।’

पत्रकारिता क्षेत्र जीवन्त भएमात्रै लोकतन्त्रको अस्तित्व रहने बताउँदै उनले भने,‘अमेरिकाकै शक्तिशाली राष्ट्रपति निक्सन वाटरगेट स्क्याण्डलका कारण राजिनामा गर्न बाध्य भए । तर अब यहाँ तपाईहरुलाई फोटोपनि खिच्न नपाउने र सामाजिक सञ्जालमा राख्न नपाउने नीति सरकारले अख्तियारी गरेको छ । यो नीतिले हाम्रो सरकार निरंकुशतातर्फउन्मुख छ भन्ने देखिन्छ।’

आफू विद्यार्थी नेता हुँदाको प्रसंग कोट्याउँदै केसीले भने,‘त्रिवीका उपकुलपति सर्युबहादुर शाक्य हुँदा म नेविसंघको संस्थापक तयारी समितिको सभापति थिएँ, त्यतिवेला भिसी शाक्यको अनुमति नलिईकन प्रहरी त्रिविमा पनि पस्न पाउँदैन थियो । त्यो त पञ्चायत कालमा । तर, अहिले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विदेश जाँदा एयरपोर्टबाट बन्धी बनाएर घण्टौंसम्म प्रधानमन्त्री निवासलाई बन्धी गृहको रुपमा परिणत गरियो । योभन्दा लज्जास्पद कुरा अरु के हुन्छ?’

त्यतिमात्रै नभएर वीर अस्पतालबाट डाक्टरलाई अपहरण गरेर गृहमन्त्रालय पुर्याएको बारेमा पनि केसीले आपत्ति जनाए । न्यायाधीशलाई के को आधारमा महाअभियोग लगाउन खोजिएको भन्दै केसीले सरकारलाई प्रश्न गरे । उनले भने,‘अभियोग त हुनुपर्यो नि । उहाँ न्यायाधीशको निम्ति अदालत फर्किदा के को महाअभियोग ?’

सरकारले भ्रष्चाटार सहन्नौं भनेर दिनप्रतिदिन बोल्ने गरेको उल्लेख गर्दै उनले सरकारलाई चूनौति दिँदै भने,‘मेरो सरकारलाई चूनौति छ, ३३ केजी सुन प्रकरण कहाँ पुग्यो ? के भैरहेको छ ? त्यो कहाँ छ ? त्यसमा जिम्मेवार को–को छन् ? आग्रह वा पूर्वाग्रहविना जुनुसकै पार्टीको भएपनि जनताको बिचमा ल्याईदिओस्, लु तागद छ भने । तर छैन । तैं चुप । मैं चुप । किनभने लहरो तान्दा पहरो गर्जिन्छ भनेर हाम्रो गाउँघरतिर भन्थे । अब त्यस्तै स्थिति छ । अब रिपोर्ट पनि कता गयो थाहा छैन ।’

सुनकाण्डका मुख्य नाईके नै पक्राउ परेपछि बास्तविकता बाहिर नआएकोमा आक्रोश पोख्दै उनले भने,‘यो प्रकरणका मुख्य नाईके गोरेलाई पक्राउ गरिएको छ । अब कुन दिन न रहे बास, न बजे बाँसुरी भनेर त्यो गोरे नै समाप्त हुन बेर छैन ।’ अहिलेको सरकारले महँगी र मुल्यवृद्धि भैरहेको सुनाउँदै सरकारले यतातर्फ ध्यान दिनुपर्ने उनले सुझाव दिए ।

फरक प्रसँगमा उनले सरकारले बुढीगण्डकी बनाउन गेजुवालाई दिने कुरा आएकोप्रति टिप्पणी गर्दै भने,‘एउटा सरकारले दियो, अर्कोले फिर्ता गर्यो, फ्रिक्वेन्टली यस्तो भैरहेको छ । अहिले फेरी उहाँहरुले दिँदा त्यसको उपदेहिता के छ भन्ने कुरा हो । विकास निर्माणका कुरा पुतली खेलेजस्तो भैरहेको छ । त्यसो गर्नुहुन्न । पछिल्लो समय फाईदाको आधारमा सरकारले निर्णय गरेको छ भन्ने कुरा बाहिर आएको छ।’



प्रतिक्रिया दिनुहोस्