Logo

पर्यटन दिवसमा होटलमा २० प्रतिशत छुट



काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल हानले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ ।

दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार २० प्रतिशत छुट होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुनेछ । होटलको कोठा पहिले नै बुकिङ गरेर आउने भएकाले खानामा मात्र छुट गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हानको काउन्टरबाट उक्त छुटको कुपन वितरण गरिनेछ । सेप्टेम्बर २७ का दिन पहिलोदेखि अन्तिम उडानमा आउने पर्यटकलाई यो कुपन दिइनेछ । सेप्टेम्बार २८ र २९ गतेसम्म यस्तो ‘अफर’ उपयोग गर्न सकिने छ । राजधानी काठमाडौँ मात्र नभइ देशभरका होटलमा छुटको व्यवस्था गरिएको हानले जनाएको छ । हानअन्तर्गत देशभर करीब दुई हजार होटल छन् ।

यसैबीच दिवसकै सन्दर्भ पारेर प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पनि विभिन्न सेवामा विशेष छुटको व्यवस्था गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले दिवसका दिन सडक सांस्कृतिक महोत्सव गर्ने र रात्रीकालीन सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको परिषद्का अध्यक्ष समीर गुरुङले जानकारी दिनुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । उक्त अभियानलाई सफल बनाउन हानले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । ‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटकीय सङ्घ संस्थाको साझेदारीमा यही सेप्टेम्बार २७ मा विविध कार्यक्रमसहित दिवस मनाइँदैछ ।



प्रतिक्रिया दिनुहोस्