पाटन दरबार क्षेत्रका चार नारायणको पुनः निर्माण आगामी वर्ष सकिने

0
Shares

ललितपुर । पाटन दरबार क्षेत्रका मन्दिरमध्ये सबैभन्दा पुरानो चार नारायाण मन्दिरको पुनः निर्माण आगामी वर्ष सकिने जनाइएको छ ।

काम नियमित रुपमा भइरहेकाले आगामी वर्षसम्म पुनः निर्माणको काम सकिने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताएका छन। उनका अनुसार हरिशङ्कर मन्दिर पनि एक वर्षमा सक्ने गरी काम भइरहेको छ । यहाँ रहेका धेरै वटा स्मारकको पुनः निर्माणको जिम्मेवारी काठमाडौँ उपत्यका संरक्षण कोष केभिपिटीले लिएको छ । प्याकुरेलले भने, “अरू काम जसरी नै कोषले यो पनि समयमा सकाउँछ भन्ने हाम्रो विश्वास छ ।”

पुनः निर्माणमा कार्यरत कोषको आफ्नो कर्मचारी भएकाले ढिलाइ नहुने प्याकुरेलले जनाएका थिए । कोषले काम गरेको स्मारकमा कृष्ण मन्दिर, मणिमण्डप, बहादुर शाहको बैठक कक्ष, योग नरेन्द्र मल्लको सालिक स्तम्भ, सिंह स्तम्भलगायत सम्पन्न भइसकेको छ ।

चार नारायण मन्दिर अरूभन्दा पुरानो भए पनि कहिले बन्यो भन्नेमा फरक धारणा पाइन्छ । कतिपयले मन्दिर १६औँ शताब्दी त कतिले १७औँ शताब्दीको शुरुमा निर्माण भएको उल्लेख छ । यो मन्दिर इँटैइँट्टाले बनेको छ । आगामी वर्ष सक्ने योजनाले अघि बढेको हरिशङ्कर मन्दिरलाई योग नरेन्द्र मल्लकी छोरीले बनाउन लगाएकी थिइन् । आधा विष्णु र आधा शिवको स्वरुप मानिने हरिशङ्कर मन्दिर १८औँ शताब्दीको शुरुमा निर्माण भएको जनाइएको छ ।