प्रधानमन्त्री केपी ओलीले मुलुकमा मुठभेड निम्त्याउन खाजेको गच्छादारको आरोप


असोज ११, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मुठभेड निम्त्याउन चाहेको आरोप लगाएका छन् ।

प्रतिनिधीसभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस उपनेता गच्छदारले सत्तारुढ पक्षका सांसद र नेता–कार्यकर्ताहरुलाई ‘अरिंगाल’ बन्न निर्देशन दिएर ओलीले मुठभेड निम्त्याउन चाहेको आरोप लगाएका हुन् ।

गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि सत्तापक्षका सांसदसँग गुहार माग्नु लज्जास्पद भएको टिप्पणी समेत गरे । गच्छदारले दुईतिहाईको कम्युनिष्ट सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल भएको भन्दै सरकारले हत्या–हिंसा र बलात्कारका घटनाहरु नियन्त्रण गर्न नसकेको आरोप लगाए । गच्छदारले यसअघि पनि हत्या हिंसाका घटनाहरु हुँदै आएको भन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिको तिव्र आलोचना गरे ।

सरकारको क्रियाकलापप्रति लज्जाबोध गर्ने खालको अभिव्यक्ति भन्दै उनले २६–२७ वर्षको इतिहासमा यस्तो नपाएको तर्क गरे । गच्छदारले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अहिलेसम्म पक्राउ नपरेको प्रति आपत्ति जनाए ।