असोज ११, काठमाण्डौ । विगत ५ महिनायता नेपालमा ७ सय १० वटा जब्बरजस्ती करणीको घटना भएको छ । महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४ सय १७ वटा घटेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाका दोषीलाई कार्वाही गरिएको दावी गरेका छन् ।
पाँच महिनाको अवधिमा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना भएको पाइएको छ । बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्यारा पक्राउ नपरेको भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले नै बलात्कारका घटना बढेको तथ्यांक सार्वजनिक गरेको हो ।
महिला तथा सामाजिक समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेमकुमार राईले बलत्कारका घटना बढेको स्वीकार गरे । उनले भने, ‘वैशाखदेखि भदौसम्मको अवधिमा ९०० बलात्कार र ५३६ जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।’
गृहमन्त्री रामबहादुर थापाले भने महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाका दोषीलाई कार्वाही गरिएको दावी गरेका छन् । गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कार्वाही गरिएको बताएका हुन् ।
समितिलाई जानकारी गराउँदै थापाले बाँकि १० प्रतिशत सो सम्बन्धि घटनाका दोषीलाई पनि छिट्टै कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न ढिलाई नहुने आश्वासन पनि दिए ।
उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानवीनमा त्रुटि गर्नेमाथि कार्वाही गरेको पनि समितिलाई स्मरण गराए । गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरे ।
गृहमन्त्री थापाले समिति समक्ष विगत ५ महिनायता ७ सय १० वटा जब्बरजस्ती करणीको घटना भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागू औषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दावी पनि गरे । बैठकमा समितिका सदस्यहरुले बढ्दो महिला हिंसा नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न सरकारलाई सुझाव दिएका छन् । समितिकी सदस्य गंगा चौधरीले फाँसीको सजाय दिएर मात्रै महिला हिंसा नियन्त्रण हुन नसकेको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याएकी थिइन् ।
बैठकमा समितिका सदस्यहरुले महिला हिंसाका दोषीलाई कार्वाहीको दायरामा ल्याउने काममा गम्भिर बन्न पनि गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । विगत ५ महिनायता नेपालमा महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४ सय १७ वटा घटेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया