मेलम्ची खानेपानी आयोजनाको अनुगमन हुने


असोज ११, काठमाण्डौ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले असोज १४ गते उक्त खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण गर्न जाने तय गरेको हो । बैठकले दशैँभित्र मेचम्चीको खानेपानी आउने आशामा बसेका नागरिकलाई जतिसक्दो छिटो आयोजना सम्पन्न गरी उपत्यकामा पानी ल्याउन निर्देशनसमेत दिएको छ ।

बैठकमा मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने दावी गरे । कँडेलका अनुसार करीब २५ हजार ८ सय मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५ सय ३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ ।

उक्त खानेपानी आयोजना निर्माण कार्य सन २००१ देखि शुरु भएको थियो । दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि अन्य प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको बताइएको छ ।