जैविक मार्ग मासेर राजधानी, विरोध जारी

0
Shares

काठमाडौं १२ असोज । चार दशक अघिसम्म चुरेफेदीको भावर क्षेत्र नेपालकै घना जंगलका रूपमा चिनिन्थ्यो । बर्सेनि अतिक्रमण र काठ चोरी तस्करीले वनक्षेत्र नासिँदै गयो । त्यस क्रममा कैलालीको गोदावरी क्षेत्र त झन् उजाडै भयो । त्यसैले यहाँको वनक्षेत्रलाई पुनर्जीवन दिन स्थानीय संरक्षणकर्मी सामुदायिक वनको अवधारणाअन्तर्गत दशक अघिदेखि जुटे ।

अहिले वनमा हराभरा फर्कन थालेको छ । मोहना कोरिडोर समन्वय समितिका अध्यक्ष राजबहादुर ऐरका अनुसार कैलालीको गोदावरी नगरपालिका २ मा पर्ने तेघरी सामुदायिक वनक्षेत्र अहिलेको अवस्थामा फर्केको धेरै समय भएको छैन । ‘एक दशकयताको प्रयासबाट बनेको वन हो,’ उनले भने, ‘गोदावरीको वन अहिले पनि किशोरावस्थामै छ ।’ ३ सय ४१ हेक्टर क्षेत्रफलको बाक्लो जंगलमा कलकलाउँदा बिरुवाका पोथा हुर्कंदै छन् । फाट्टफुट्ट सिसौ, साल र खयरका रूख पनि छन् । वातावरणीय दृष्टिले महत्त्वपूर्ण यही वन क्षेत्र नै अहिले प्रदेश ७ को राजधानी प्रस्तावित गरिएको छ ।

गोदावरी वनक्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्गको मोहना कोरिडोर क्षेत्रमा जोडिएपछि यसको महत्त्व झनै बढेको अध्यक्ष ऐर बताउँछन् । उनले भारतको जिम कर्वेट नेसनल पार्कदेखि पूर्व वाग्मतीको पर्सासम्म जोड्ने जैविक मार्गको मुख्य घाँटी गोदावरी वनक्षेत्र भएको बताए । ‘भारतको दुधुवा नेसनल पार्क र कञ्चनपुरको लालझाडी हुँदै शुक्लाफाँटा वन्यजन्तु निकुञ्जलाई मोहना कोरिडोरले जोड्छ,’ ऐर भन्छन्, ‘यस्तो महत्त्वको जैविकमार्गमा राजधानी बन्ने हो भने मोहना करिडोरको उपायदेता नै समाप्त हुन्छ ।’

प्रदेश ७ को हाल अस्थायी मुकाम रहेको धनगढीबाट स्थायी राजधानीका लागि प्रस्तावित तेघरी वनक्षेत्र मात्र २० किलोमिटर दूरीमा छ । यो वनक्षेत्रको मध्यभाग भएर प्रदेश ७ का ७ पहाडी जिल्ला जोड्ने राजमार्ग निर्माण भएको छ । पहाडी जिल्लाको प्रवेशमार्गमा रहेको यो वनक्षेत्र जैविक, प्राकृतिक, वातावरणीयसँगै धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण छ ।

वनक्षेत्रको सिरानबाट चुरे पहाड सुरु हुन्छ । त्यही पहाडबाट निस्केको गोदावरी नदी यस क्षेत्रको पवित्र नदीका रूपमा चिनिन्छ । राजधानी बनेपछि वनजंगल त स्वाहा हुन्छ नै, केही स्थानीयवासीलाई भने राजधानीका पूर्वाधार बन्न थालेपछि गोदावरी नदीको धार्मिक आस्था ओझेलमा पर्नेे पो हो कि भन्ने चिन्ता हुन थालेको छ । ‘यसलाई राजधानी हैन, धार्मिक क्षेत्रका रूपमा विकास गर्नुपर्छ,’ ग्वासी समैजी देवस्थल सम्भार केन्द्र वनदेवी गोदावरीका अध्यक्ष चन्द्रबहादुर मडैले भने, ‘गोदावरीले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रसिद्ध धार्मिक धामको पहिचान बनाउन थालेको थियो, राजधानी बनेपछि यसको धार्मिक प्रसिद्धि आझेलमा पर्छ कि भन्ने लाग्न थाल्यो ।’ उनका अनुसार २ वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएर गोदावरी महाकुम्भको शुभारम्भ गरेपछि धार्मिक चर्चा पाएको हो । महायज्ञमा देशविदेशका हजारौं भक्तजन पुगेका थिए ।

किन तेघरीको वनक्षेत्र ?
बुधबार प्रदेशसभा बैठकमा प्रदेशको नामकरण र राजधानीका लागि ठाउँ निर्धारणसम्बन्धी प्रस्ताव छलफलका लागि पेस भएपछि सदनमा सत्तापक्ष र प्रतिपक्षबीच प्रदेशका नाममा सहमति देखिए पनि राजधानीका विषयमा फरक धारणा देखियो । प्रतिपक्ष कांग्रेसले धनगढीबाट केही किलोमिटर मात्र टाढा तेघरी वनक्षेत्रमा राजधानी बनाउनुको औचित्य ठीक नभएको भन्दै धनगढी नै कायम हुनुपर्ने प्रस्ताव पेश गर्‍यो । दुई तिहाइ बहुमत रहेको सत्तापक्षले भने विशेष सुझाव समितिले तोकेको ठाउँ तेघरी वनक्षेत्र उपयुक्त रहेको भन्दै त्यहीं राजधानी कायम गर्न अर्को प्रस्ताव दर्ता गरायो । यी दुवै प्रस्ताव शुक्रबार प्रदेशसभामा निर्णयार्थ पेस हुनेछन् ।

‘हामीले राजधानीका सम्बन्धमा रायसुझाव संकलन गर्दा अधिकांश पक्षबाट तेघरी नै उपयुक्त भएको सुझाव आएको हो,’ विशेष सुझाव समितिका संयोजक प्रदेश सांसद तारा लामा तामाङले भने, ‘ठाउँ अन्यत्र हुन नसक्ने भन्ने होइन तर सबै पक्षसँग सुझाव माग्दा तेघरी नै उपयुक्त भएको रायअनुसारै सुझाव पेस गरिएको हो ।’

तर प्रतिपक्षी कांग्रेसले भने समितिको सुझावलाई ‘निर्देशित ड्राफ्ट’ भनेर आलोचना गरेको छ । बुधबारको बैठकमा कांग्रेस सांसद भरतबहादुर खडकाले विशेष समितिले कुनै पनि जिल्लामा नपुगी, विज्ञहरूसँग परामर्श नगरी प्रतिवेदन तयार गरेको आरोप लगाएका थिए । ‘सुदूरपश्चिमको क्षेत्रीय मुख्यालय दिपायलको भौतिक पूर्वाधारसमेत निरीक्षण गरेन ।’ कान्तिपुरबाट