काठमाडौं १३ असोज । प्रा.डा.गोविन्द केसीले सरकारले आफूसँग जनहितका विषयमा सहमति गरेपनि त्यसको पालना नगरेकोले जुनसुकै समय १६ औं अनशन बस्न सक्ने चेतावनी दिएका छन् । उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामाको माग समेत गरेका छन् ।
उनले चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद अधिवेशन अन्त्य गरिएको प्रति आक्रोश प्रकट गर्दै जुनसुकै समय अनशन बस्ने चेतावनी दिएका हुन् । तर उनले आफ्नो अनशनको स्थान, समय आदिबारे स्पष्ट पारेनन् । ‘बिना जानकारी नै म, जुनसुकै ठाउँमा अनशन बस्न सक्छु,’ डा.केसीले शुक्रबार भने, ‘म १६ हैन, १७ चोटी सत्याग्रह गर्छु र यो ऐन हामीले भने जस्तो जनता र विद्यार्थीमुखी भएर आउनु पर्छ ।’
माथेमा कार्यदलको प्रतिवेदन र आफूहरुसँग भएको सहमति अनुसार संसदबाट विधेयक पारित गर्ने गरी १५ औं सत्याग्रह अन्त्य गर्दा सरकारसँग सहमति भएको दुई महिना बितिसकेपछि संसद अधिवेशन अन्त भएको हो ।
शिक्षामन्त्री पोखरेललाई कुर्सीमा बसी राख्ने नैतिकता नरहेको जनाउँदै डा.केसीले भने, ‘विधेयकमा फलानो कुरा हटाउने हो भने आजै ऐन पारित हुन्छ भनेर शिक्षामन्त्रीको तर्फबाट फोन आयो । संसदको अन्तिम दिनमा ब्ल्याकमेलिङ्ग गर्ने ?’
गत साउन २६ गते आफूहरुसँग भेटघाटमा प्रधानमन्त्री केपी ओलीले सरकारले गरेको सम्झौता अनुसार नै विधेयक संसदबाट पारित हुने र सहमतिका सबै बुँदाहरु कार्यान्वयन गर्ने विश्वास दिलाएको डा.केसीले बताए । कान्तिपुरबाट




प्रतिक्रिया