पार्टी एकीकरणको काम नसकिदै विवादमा फस्यो नेकपा

0
Shares

काठमाडौं १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ । आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा आएको हो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै भेला गर्नुभएको छ । सात प्रदेश नेतृत्व चयनमा सहभागिता नगराइएको, पार्टीको सांगठानिक एकता प्रक्रियामा अध्यक्षद्वयले अधिकार आफ्नो हातमा लिएर निर्णय गरेको अध्यक्षद्वय विदेश जाँदा पनि कार्यबहाक अध्यक्षको जिम्मेवारी नदिएकोप्रति नेता नेपाल पक्ष असन्तुष्ट रहँदै आउनुभएको छ । सांगठानिक एकीकरणबाट सुरु भएको विवाद छुट्टै भेला बोलाउने अवस्था सृजना भएको छ ।

भेलामा नेता नेपालले पार्टीको सम्पूर्ण अधिकार दुई अध्यक्षमा केन्द्रित भएको भन्दै सबै अधिकार पार्टीको स्थायी कमिटीमा ल्याउनुपर्ने माग गर्नुभयो । स्थायी कमिटी सदस्यहरुलाई चाँडोभन्दा चाँडो स्थायी कमिटीको बैठक बोलाउन दबाब दिन आग्रह गर्दै उहाँले अध्यक्षद्वयले एकलौटी निर्णय गरेर अगाडि बढ्नु गलत भएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । वरिष्ठ नेता नेपालको भनाइ उदृत गर्दै नेपाल निकट एक नेताले भने– ‘पार्टी विधि र पद्दतीमा चल्नुपर्छ, सामुहिक निर्णय गरेर अगाडिढ बढनुपर्छ, पार्टीमा छलफल नगरेर अध्यक्षद्वयले मात्र अधिकार केन्द्रीत गर्न खोल्नु ठिक तरिका भएन, पार्टीमा अध्यक्षद्धयले मन लाग्दै गर्ने निर्णय टुलुटुल हेरेर बस्न सकिँदैन ।’

भेलामा उहाँले सरकारले गरेका काम कारवाही समेत चित्त नबुझेको भन्दै सरकारको बारेमा पार्टीभित्र गम्भीर समीक्षा गर्ने बेला आएको बताउनुभयो ।

अध्यक्षद्वय ओली र प्रचण्डले आफू विदेशमा भएको बेला प्रदेश पदाधिकारी चयन गरेको भन्दै नेता नेपालले असन्तुष्ट जनाउँदै आउनुभएको छ । गत असोज ५ गते सचिवालयको बैठक बसेको बेला नेता नेपाल दक्षिण अफ्रिकामा रहनुभएको थियो भने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चीनमा रहनुभएको थियो । आफूहरुलाई झुक्याएर सचिवालयले प्रदेशका पदाधिकारी टुंगो लगाएको भन्दै नेपाल र श्रेष्ठ असन्तुष्ट बन्दै आउनुभएको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजित स्थायी कमिटीका सदस्यको भेलामा नेता नेपालले भन्नुभयो– ‘अध्यक्षले तपाई स्वदेश नफर्की निर्णय गर्दिनँ भन्नुभएको थियो, तर म नभएका बेला सचिवालयको बैठक बोलाउनुभएछ, सचिवालयको यो निर्णय मलाई मान्य नभएकाले औपचारिकरुपमा असहमति दर्ज गरेको छु ।’ नेता नेपालले प्रदेश कमिटी बनाउने निर्णय स्थायी कमिटीको बैठकबाट हुनुपर्ने बताउँदै सचिवालयको निर्णय आफूलाई मान्य नहुने चेतावनी समेत दिनुभएको छ ।

४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमालेबाट २५ र माओवादीबाट २० जना सदस्य छन् । पार्टीको प्रदेश पदाधिकारी चयन प्रक्रियामा असन्तुष्ट बनेका नेता नेपालले बोलाएको यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार काठमाडौंमा चियापान कार्यक्रम नाम दिइएको उक्त भेलामा नेकपाका नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङलगायतको सहभागीता रहेको थियो । नेपालसमाचारपत्रबाट