राष्ट्रकवि घिमिरेलाई भव्य नागरिक अभिनन्दन (फोटोफिचर)


काठमाडौं, १३ असोज । काठमाडौं महानगरपालिका र नागरिक समाजको तर्फबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको शताब्दी वर्षगाँठको अवसरमा नागरिक शतवार्षिकी अभिनन्दन गरिएको छ ।

नेपाली साहित्यका शिखरपुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शनिबार रथारोहणसहित भव्य अभिनन्दन गरिएको हो । लैनचौर , कपुरधारास्थित निवासबाटै काठमाडौंका विभिन्न क्षेत्रको परिक्रमा गराएर घिमिरेलाई अभिनन्दन गरिएको हो ।

नेपाली सेनाको बाजागाजासहित घिमिरेको रचना ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे..’ भन्ने गीत गुन्जिँदा कार्यक्रममा उपस्थित सबैजना देश र कविप्रति समर्पित भएझैं देखिन्थ्यो ।

वि.सं. १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका घिमिरेको यही असोज ७ गते राष्ट्रप्रमुखकै उपस्थितिमा भव्यरुपले जन्मदिन मनाइएको थियो ।

रथारोहणपछि राष्ट्रिय सभागृहमा आयोजित सम्मान कार्यक्रममा अतिथिहरुले प्रत्येक नेपालीमा माटोप्रतिको प्रेम जगाउन घिमिरेले अतुलनीय योगदान पुर्‍याएको भन्दै उच्चसम्मान प्रकट गरेका थिए ।

कविवर घिमिरेलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाली चलचित्र क्षेत्रका हस्ती राजेश हमाललगायतले सम्मानपत्र प्रदान गरी सम्मान अर्पण गरेका थिए ।

१०० वर्षको उमेरमा पनि १६ वर्षे ठिटोजस्तै क्रियाशील घिमिरेको प्रस्तुत् र हाउभाउलाई देखेर सबै उपस्थित दंग परेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे