काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसी एकाएक सभापति शेरबहादुर देउवाप्रति नरम भएका छन् ।
केही दिन अघिमात्रै रिपोर्टर्स क्लब नेपालमा एकचोटी सभापति भएकाहरु बारबार सभापति बन्न लालायित हुने गरेको भएपनि अब त्यो सपना नदेख्न देउवालाई चेतावनी दिएका थिए । तर, तिनै नेता केसीले भने आज पोखरामा वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताउँदै नरमपना प्रस्तुत गरेका छन् ।
नेपाली काँग्रेस कास्कीद्वारा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको बताए । नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन्ने गरेको उल्लेख गर्दै उहाँले आग्रह पूर्वाग्रहलाई त्याग्दै पार्टीलाई एकाकार बनाउन लाग्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शुक्रराज शर्मा, राष्ट्रियसभा सदस्य वृन्दा राना, सोभियतबहादुर अधिकारी लगायतले पार्टीको आन्तरिक एकता कायम गर्नु वर्तमानको आवश्यकता भएकोमा जोड दिएका थिए ।




प्रतिक्रिया