कांग्रेसले नेवि संघको महाधिवेशन रोक्न खोज्यो, अब पार्टीविरुद्ध नै लड्छौँ : महामन्त्री काफ्ले


असोज १६, काठमाण्डौ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेले संघको विधान पार्टीले स्विकृत नगरेका कारण महाधिवेशन नै अन्यौलमा परेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै काफ्लेले तोकिएको मितिमा महाधिवेशन हुनेमा अन्योल देखिएकोसमेत बताए ।

नेपाली कांग्रेसको निर्देशक समितिले नेवि संघको महाधिवेशन रोक्न लागेको काफ्लेको आरोप छ ।

अध्यक्ष नैनसिंह महर र आफूबीच विवाद भएको स्विकार गर्दै उनले १२ औँ महाधिवेशनका लागि भने कुनै विमति नरहेको दावी गरे ।

पार्टीका शीर्ष नेताहरुले नै नेवि संघलाई कमजोर बनाउन सक्रिय रहेको काफ्लेको आरोप छ । आफू अनुकूलका व्यक्तिलाई नेवि संघको नेतृत्वमा ल्याउनका लागि पार्टीका नेताहरुले चलखेल गर्ने गरेको उनको जिकिर थियो ।

आफू वीपी कोइरालाको अनुयायी भएको भन्दै उनले वीपीले सिकाएको सिद्धान्तका आधारमा पार्टीभित्र संघर्ष गर्ने बताए ।

“हामी वीपी कोइरालाको बाटोमा लागेर पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध लड्छौँ ।” उनले भने ।

पार्टीलाई व्यक्तिवादी प्रवृत्तिबाट अगाडि बढाइएकाले विभिन्न समस्या आउने गरेको उनको भनाई छ ।

संघको महाधिवेशन कात्तिकमा गर्ने भनिएपनि अहिले अन्योल भएको छ । अध्यक्ष महरले कात्तिकमा जसरी पनि महाधिवेशन गर्ने बताएका थिए ।
भदौमा अहिलेको कार्यसमितिको समयावधी सकिएपछि ३ महिना थप गरिएको थियो ।

संघभित्र देखिएको द्धन्द्धको जड नेपाली कांग्रेस नै भएको काफ्लेको आरोप छ ।