यसरी भयो देउवाविरुद्ध मोर्चाबन्दी

0
Shares

काठमाडौं १८ असोज ।
सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता संगठित हुन थालेका छन् । संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् ।

पौडेलले बालाजुको धौलागिरि सहकारीको कार्यालयमा मंगलबार भेला डाकेका थिए। भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, गगन थापा, नवीन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेता उपस्थित थिए। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने त्यहाँ गएनन्। पारिवारिक कारणले सिटौला अनुपस्थित भएको नेता अर्जुननरसिंह केसीले बताए।
Yamaha

नेविसंघ अधिवेशन, विधान संशोधन, क्रियाशील सदस्यता वितरणजस्ता मुद्दामा देउवाले एकलौटी गर्न खोजेको पौडेलपक्षको आरोप छ। महाधिवेशन तयारी अघि नबढेसम्म सभापतिको उम्मदेवारी घोषणा नगर्नेमा पौडेलपक्षीय नेता सहमत भएका छन्। यो पक्षबाट सभापति उम्मेदवार बन्न पौडेल आफैं इच्छुक छन्। उनीबाहेक महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालाले पनि उम्मेदवारीमा दाबी गर्दै आएका छन्।
१४ औं महाधिवेशनलाई केन्द्रित गरेर केही समयअघि सिटौलाले छुट्टै समूह अघि बढाउने अभियान थालेका थिए। सिटौलाको अभियान, कोइरालाद्वय (शशांक र शेखर) र पूर्वमहामन्त्री सिंहसमेतको नेतृत्व दाबीले संस्थापनइतर पक्ष अस्तव्यस्त बनेको थियो। ‘संस्थापन इतरपक्षमा जो लडे पनि अब एउटै व्यक्ति हुन्छ, पार्टीलाई यथास्थितिबाट अघि बढाउन सुधारका एजेन्डासहित हामी एकजुट भएर अघि बढ्छौं,’ केसीले भने। संस्थापन इतरपक्षलाई एकजुट बनाउने विषयमा भेलामा छलफल भएको बताउँदै केसीले पार्टीलाई विधि, विधान र पारदर्शिताअनुसार सञ्चालन गर्न देउवालाई दबाब दिने बताए।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति देउवाले आफ्नो गुटबाहेक अरुलाई पेलेर अघि बढ्न खोजेका कारण संस्थापनइतर पक्ष संगठित भएको बताए। ‘देउवाको पेलाइको सिकार सबै हुँदै छन्, आफ्नालाई संरक्षण गर्न र अरुलाई पेल्दै जान थालेपछि एक ठाउँमा आउनुको विकल्प देखिएन,’ उनले भने, ‘सभापतिले पार्टी सञ्चालनसमेत प्रभावकारी रुपमा गर्न सक्नुभएको छैन। पार्टीमा सुधार ल्याउन अब सबै एक ठाउँमा हुनुपर्छ भन्ने महसुस भएको छ।’

शक्तिशाली बनाउन नहुने
संस्थापन इतरपक्षले सभापतिलाई बलियो बनाउने गरी विधान संशोधन मस्यौदा आए त्यसलाई नमान्ने निर्णय गरेको छ। देउवापक्षीय नेताहरूले सभापतिलाई थप शक्तिशाली बनाउने गरी विधान संशोधनको तयारी अघि बढाएपछि पौडेल पक्ष त्यसविरुद्ध उभिएको हो।

संस्थापन पक्षले १४ औं महाधिवेशनमा पनि देउवा नै निर्वाचित हुने अनुमानका आधारमा सभापतिलाई थप अधिकार दिने गरी विधान संशोधन गर्न लागेको छ। एक महामन्त्रीबाहेक सबै पदाधिकारी सभापतिले सिधै मनोनीत गर्न पाउने गरी विधान संशोधन गर्न लागिएको छ। यसअघि पदाधिकारीमा सभापतिबाहेक एक महामन्त्री र कोषाध्यक्ष निर्वाचनबा छानिन्थे। उपसभापति, एक महामन्त्री र सहमहामन्त्री सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यको बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्था थियो। यसलाई संशोधन गरी एक महामन्त्रीबाहेक सबै पदाधिकारी सभापतिबाट सिधै मनोनयन गर्न पाउने व्यवस्था राख्न सभापति पक्षीय सदस्य जुटेका छन्।

विधान संशोधन समितिका प्रवक्ता रमेश लेखकले भने सभापतिलाई काम गर्न सहज बनाउनुपर्छ भन्ने सुझाव सबै पक्षबाट आएको बताए। ‘यही विधानको व्यवस्थाका कारण हिजो सुशील कोइरालालाई र आज शेरबहादुर देउवालाई पदाधिकारी मनोनयन गर्न कठिनाइ भयो भन्ने आमभनाइ छ’, उनले भने, ‘पौडेलजी निकट रहेका नेताहरूले नै सभापतिलाई काम गर्न सहज हुनेगरी विधानमा संशोधन गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ। यसलाई एउटा पक्षको मागको रुपमा मात्रै लिन हुन्न।’
कान्तिपुरबाट