काठमाडौं । सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाको ऐलानी जग्गामा ६० वर्षभन्दा बढी समयदेखि बस्दै आएका डोम परिवारका दुई घरमा डोजर लगाएर भत्काइएको छ । स्थानीय भरतराज शर्माले घर भत्काइदिएपछि निम्नवर्गीय डोम परिवारका १८ जनाको बिचल्ली भएको छ ।
शर्माले ‘मेरो जग्गा खाली गराउन अदालतको आदेश छ’ भन्दै १३ असोजमा डोजर लगाएर घर भत्काएपछि आफूहरूको बिचल्ली भएको ६५ वर्षीय बिल्टु मरिकले बताए । घरका कुनै पनि सामान बाहिर निकाल्न नदिई भत्काइएको छ । ‘दुई पुस्तादेखि ऐलानी जग्गामा बनाएको झुपडीमा गुजारा गर्दै आएका थियौँ, अहिले अचानक डोजर लगाएर भत्काएपछि हाम्रो बस्ने ठाउँ भएन,’ उनले भने ।
बिल्टु मरिकका अनुसार सो जग्गामा दुई परिवार बसेर बाँकी स्थानीयले संरक्षण गरेका थिए । तर, शर्माले सो जग्गासँगै मरिक परिवारले चर्चेको एक कट्ठा पनि कब्जा गरेका छन् । त्यति मात्र नभई ती घरपछाडिको साबिक चन्द्रअयोध्यापुर गाविस–२ को कित्ता नं. ४०८ भएको एक कट्ठा ११ धुर जग्गा पनि शर्माले आफ्नो दाबी गरेका छन् ।
प्रहरीले उजुरी नलिएको गुनासो
स्थानीय ५५ वर्षीया ललियादेवी मरिकले आफूहरूको घर भत्काइदिए पनि प्रहरीले उजुरी नलिएको गुनासो गरिन् । ‘घरबाहिर रहेको मौका छोप्दै डोजर चलाएर घर भत्काउनुका साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन नष्ट गरिदिए,’ उनले भनिन्, ‘ओत लाग्ने झुपडी भत्काएपछि न्याय माग्दै प्रहरीमा उजुरी लिएर गयौँ, तर उजुरी नै दर्ता गर्न मानेनन् ।’
स्थानीय सञ्जय मरिकले घर भत्काउन डोजर चलाएको समयमा प्रहरी उपस्थित भए पनि मूकदर्शक बनेको गुनासो गरे । ‘प्रहरीकै अगाडि गुण्डागर्दी शैलीमा घर भत्काउँदासमेत हस्तक्षेप गरेन,’ उनले भने, ‘दुई–चार दिनको समय दिनुस्, सामाजिक छलफलले जे भन्छ, त्यही मान्छौँ भन्दा पनि सुनेनन् ।’
जग्गा आफ्नो भएको दाबी गर्दै आएका शर्माले शान्तिसुरक्षाको माग गरेकाले त्यसका लागि मात्र प्रहरी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहले दाबी गरे ।




प्रतिक्रिया