संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले फट्याई गर्यो : लालबाबु राउत


असोज १९, काठमाण्डौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका लागि आवश्यक वातावरण बनाउने क्रममा रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राउतले नीतिगत काम अगाडि बढिरहे पनि कर्मचारी अभावका कारण देखिने गरी काम गर्न नसकिएको गुनासो गरे ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रीले लालबाबु पण्डितले फट्याई गरेकाले प्रदेश सरकारले कर्मचारी अभाव खेप्नुपरेको राउतको आरोप छ ।

“संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले फट्याई काम गरेको छ । हामीले तयार गर्ने सांगठनिक ढाँचा नै तयार गर्न नसकिने गरेर पत्र पठाएको छ । हाम्रो क्षेत्राधिकारभित्र यसरी हस्तक्षेप नगरियोस् ।”

अब ऐन पास गरेर आफैँ कर्मचारी भर्ना गर्ने तयारीमा आफू रहेको राउतले जानकारी दिए । उनले अहिले पनि केन्द्र सरकारको मानसिकता परिवर्तन हुन नसकेको उनको भनाई छ ।

कर्मचारी अभाव कै कारण काम गर्न नपाइएको भन्दै उनले अब केन्द्र सरकारले कर्मचारी व्यवस्थापन गरेन भने प्रदेश सरकारले नयाँ कदम चाल्ने चेतावनी राउतले दिएका छन् ।