आफ्नै घमण्डले संचारमन्त्री बास्कोटा आलोचनाको सिकार, ओली रुष्ट


असोज १९, काठमाण्डौ । पछिल्लो समय सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा विवादित बन्दै गएका छन् ।

बास्कोटाले संसदीय समितिको निर्णय नै उल्ट्याउन बाध्य बनाएपछि उनको आलोचना सुरु भएको थियो । बास्कोटाले असहमति जनाएपछि संसदको विकास तथा प्रविधिको निर्णय नै सच्याउनु परेको थियो ।

यसअघि मन्त्रीले समितिको निर्णयमा हस्तक्षेप गरेको पाइएको थिएन ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने सन्दर्भमा विकास समितिमा भएको छलफल विपरीत निर्णय सुनाइएको भन्दै मन्त्री बास्कोटाले हस्तक्षेप गरेका थिए । बिहीबार बैठकपछि समिति सभापति कल्याणी खड्काले निर्णय सुनाउँदै गर्दा बास्कोटाले मेरो असहमति छ भन्दै रोकेका थिए ।

उनले समितिमा भएको छलफल विपरीत कसरी निर्णय आयो भन्ने प्रश्न गरेर पटकपटक असहमति जनाएपछि सभापति खड्काले निर्णय सच्याउन बाध्य भएका थिए ।

सोही दिन मन्त्री बास्कोटाले पत्रकार र सञ्चारकर्मीलाई समेत अपमानित गरे । उनको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले पनि आपत्ति प्रकट गरेको छ ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समितिको बैठकमा मन्त्री बास्कोटाले अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

मन्त्री बास्कोटाले पत्रकारहरुलाई ‘दशैँ आएको छ, खर्च पुगेन भने लिन आउनु भनी दिएको अभिव्यक्तिले आम पत्रकारहरुको अपमान भएको भन्दै चौतर्फी आलोचना भएको छ ।

सरकारका मन्त्रीहरुमध्ये अहिले बास्कोटाप्रति प्रधानमन्त्री केपी ओली नै असन्तुष्ट हुन थालेको बताइएको छ । विगतमा हालका उद्योगमन्त्री मातृका यादवले कर्मचारीलाई ट्वाइलेटमा थुनेर विवादमा आए । अर्का मन्त्री हरी पराजुलीले असार १५ मा हिलो खेल्दा महिलामाथि दुव्र्यवहार गरेर मन्त्री पद नै गयो ।

करिमा बेगमले कर्मचारीलाई झापड हानेर उदण्डता देखाइन् । अहिलेका मन्त्री बास्कोटाले पनि मार्यादा विपरितको काम र बोली प्रस्तुत गर्न थालेका छन् ।