असोज २०, काठमाण्डौ । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा बनाउने बेलादेखि सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस शुरु भएको थियो । कांग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास थियो । एकल नेतृत्वबाट आफुखुशी काम गर्ने गरेको गुनासोपछि कांग्रेसको १२ औँ महाधिवेशनबाट सभापतिसँगै अन्य पदाधिकारी पनि निर्वाचित हुने व्यवस्था गरिएको हो । तर त्यसयता बेलाबेला एकल नेतृत्व र बहुल नेतृत्वका पक्षमा बारेमा बहस हुने गरेको छ ।
कांग्रेसले अहिले मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधान परिमार्जन गर्ने तयारी थालेको छ । योबेला पनि अधिकार बाँडफाँटको विषय बहसमा आएको हो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको सभापति जहिले पनि बलियो अवस्थामा रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले विधान संशोधनपछि सभापतिलाई थप बलियो बनाउने हो भने निरङ्कुशता जन्मिने बताए ।
१४ औँ महाधिवेशनपछि को सभापति हुन्छ भन्ने ठेगान नभएको अवस्थामा अहिलेका सभापति शेरबहादुर देउवाले अधिकार बढाउन चाहनुको अर्थ नरहने कोइरालाको तर्क छ ।
देउवाकै कारण अहिले कांग्रेसमा संवादहिनताको अवस्था रहेको बताउँदै उनले विधानअनुसार काम नभएको जिकिर गरे ।
“कसैलाई अधिकार दिएर मात्रै हुँदैन, पाएको अधिकार कसरी प्रयोग गर्ने भन्ने विषय महत्वपूर्ण छ ।” कोइरालाले भने ।
अब हुने महाधिवेशनले देउवालाई सभापति बनाउने सम्भावना ज्यादै कम रहेको उनले बताए ।
पछिल्लो समय कांग्रेसको आन्तरिक व्यवस्थापन गर्न देउवा असफल भएको उनको आरोप छ ।
सरकारले कर्मचारीलाई भ्रष्टाचार नगर्ने प्रतिज्ञा गराउने विषयमा तर्क गर्दै कोइरालाले त्यस्तो प्रतिज्ञा मन्त्री, नेता र ठूला व्यापारीले गर्नुपर्ने बताए ।
पुँजीवादले बलात्कारका घटना बढ्यो भन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाए । बलात्कारका घटना बढ्नुमा दण्डहिनता प्रमुख कारण रहेको बताए ।
अहिलेको सरकारले भ्रष्टाचार र वेथितीलाई प्रश्रय दिएको उनको जिकिर छ ।




प्रतिक्रिया