विवादित बन्दै गोकुल बास्कोटा, किन अपमान गरे पत्रकारको ?


असोज २०, काठमाण्डौ । पछिल्लो समय सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा विवादित बन्दै गएका छन् । बास्कोटाले संसदीय समितिको निर्णय नै उल्ट्याउन बाध्य बनाएपछि उनको आलोचना सुरु भएको थियो । सोही दिन मन्त्री बास्कोटाले पत्रकार र सञ्चारकर्मीलाई समेत अपमानित गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले विकास समितिको एउटा निर्णय नै उल्ट्याउन दबाब दिएको विषयले उनी विवादित बनेका थिए । यसअघि कुनै पनि मन्त्रीले समितिको निर्णय उल्ट्याउन लगाएका थिएनन् । बास्कोटानले असहमति जनाएपछि संसदको विकास तथा प्रविधिको निर्णय नै सच्याउनु परेको थियो । उनको विवादित विषय यतिमै मात्र सिमित रहेन ।

सोही दिन मन्त्री बास्कोटाले समितिको बैठकमा बोल्ने क्रममा पत्रकार र सञ्चारकर्मीलाई समेत अपमानित गरे । उनले व्यापारी तथा ठेकेदारको चाहनाअनुसार पत्रकारले समाचार लेख्ने गरेको आरोप लगाए । बास्कोटाले एउटा प्रतिष्ठित पत्रिकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २० करोड अनियमितिता गरेको तथ्य सार्वजनिक गरेकोमा आक्रोष व्यक्त गर्दै पत्रकारलाई दर्शैँ खर्च लिन आउनुसम्म भने । मन्त्री बास्कोटाले पत्रकारहरुलाई ‘दशैँ आएको छ, खर्च पुगेन भने लिन आउनु भनी दिएको अभिव्यक्तिले आम पत्रकारहरुको अपमान भएको भन्दै चौतर्फी आलोचना भएको छ ।

उनले संचारमाध्यमले सरकारलाई अपराधीजस्तो देखाउन खोजेको आरोपसमेत लगाए । श्रमजिवी पत्रकारको पारिश्रमिक बढाउन आफूले दबाब दिए पद नै धरापमा पर्ने हुँदा यस्तो जोखिम आफूले नलिने बताएका थिए ।

मन्त्री बास्कोटाको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले पनि आपत्ति प्रकट गरेको छ । पत्रकार महासंघका महासचिव रमेश विष्टले मन्त्रीको यस्तो अभिव्यक्ति दोहोरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । विष्टले मन्त्रीको भनाई खेदपूर्ण र गैरजिम्मेवार रहेको भन्दै अबका दिनमा संचारमाध्यम र पत्रकारलाई अपमान नगर्न चेतावनीसमेत दिएका छन् ।

यसअघि मन्त्री बास्कोटाले लघु संसद मानिने समितिको सभापतिको रुलिङलाई उल्लङ्घन गर्दै संसदीय मर्यादा विपरित हप्की दम्की गरी निर्णय नै आफू अनुकूल बनाएका थिए ।