कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा, स्वास्थ मन्त्रालय बेखबर


असोज २२, काठमाण्डौ । काठमाडौंको महाराजगञ्जमा अवस्थित कान्ति बाल अस्पताल संकटमा परेको छ । पर्याप्त चिकित्सक नहुनेदेखि कर्मचारीले तलबसमेत खान नपाउने अवस्था छ । तर स्वास्थ्य मन्त्रालयले भने कुनै चासो दिएको छैन ।

कान्ति बाल अस्पताल स्थापनाकालदेखि नै समस्या नै समस्याको भुमरीमा फसेको छ । अस्पतालको समस्याको बारेमा स्वास्थ मन्त्रालयलाई जानकारी गराउँदा पनि समाधानको उपाय खोजिएको छैन । नेपाल अधिराज्यभरि बालबालिकाको स्वास्थ्य उपचार प्रदान गर्ने पुरानो र पहिलो सरकारी अस्पताल कान्ति बाल अस्पताल हो ।

यहाँ देशको कुना कुनाबाट बालबालिकाहरुको उपचारका लागि मानिसहरुको घुइँचो लाग्ने गर्दछ । कान्ति अस्पतालले सेवासुविधाहरु नागरिकलाई प्रदान गर्न थालेको समयदेखि नै विभिन्न खाले समस्याको चपेटामा अस्पताल पर्दै आएको छ । कान्ति बाल अस्पतालमा ३९ जना चिकित्सकको दरबन्दी छ ।

तर ५ जना चिकित्सक मात्रै कार्यरत छन् । पछिल्लो ११ वर्षदेखि चिकित्सक अभाव हुँदै आएको छ । तर स्वास्थ्य मन्त्रालयले भने चिकित्सकको व्यवस्था गर्न सकेको छैन । उपचार धेरै प्रकारका रोगको गर्नुपर्ने हुन्छ । तर त्यसका लागि चिकित्सक नै छैनन् ।

अस्पतालको समस्या चिकित्सक अभाव मात्रै होइन, अरु धेरै समस्या छन् । गम्भीर प्रकृतिका विरामीलाई उपचार गराउनु पर्दा आइसियुको सुविधासमेत पर्याप्त छैन । दैनिक १० जना विरामी आइसियुमा उपचार गराउनुपर्ने स्थिती भए पनि हाल तीन वटा मात्रै आइसियु छ ।

समस्या यतिमै सिमित छैन । नर्सहरुकोसमेत अभाव छ । अझै जटिल समस्या त के छ भने अबको २ महिनापछि अस्पतालमा कार्यरत कर्मचारीले तलबसमेत नपाउने स्थिती छ । तर स्वास्थ्य मन्त्रालय भने बेखबर जस्तै छ ।

आमा कान्ति राज्यलक्ष्मीदेवी शाहको नामबाट तत्कालीन राजा महेन्द्रले वि.सं २२ पुस ०१९ तदनुसार जनवरी ७ सन् १९६३ मा विधिवत् उद्घघाटन गरेर तत्कालीन सोभियत संघ सरकारको सहयोगमा स्थापना भएको हो । कान्ति बाल अस्पताल काठमाडौंको महाराजगन्जमा करिब ढछ रोपनी क्षेत्रफल भित्र अवस्थित छ ।