संसद छिर्ने दाउमा रहेका बामदेवलाई खरेलको २० लाखले तनाब


असोज २३, काठमाण्डौ । नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने चर्चा छ । यसअघि डोल्पा र बाँकेबाट निर्वा्चित सांसदहरुलाई राजीनामा गराउन खोजे पनि त्यो सफल हुन सकेको थिएन ।

पछिल्लो समय वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने चर्चा सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञवालीले भने रामवीर मानन्धर राजिनामा दिन तयार भइसकेको पुष्टी गरेनन् ।

उपचुनाव जितेर संसद छिर्ने दाउमा रहेका गौतमलाई यतिबेला प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’ले तनाब दिएको छ ।

गत वर्ष सम्पन्न चुनावमा बर्दियाबाट पराजित गौतम उपचुनाव लडेर भएपनि संसद छिर्ने रणनीतिमा छन् । यसबारे नेकपाभित्र औपचारिक छलफल नै सुरु भएको छ ।

नेकपाका सचिवालय सदस्य समेत रहेका गौतमका बारेमा खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा लेखिएको एक विषयले चर्चा पाएको छ ।

आत्मकथामा खरेलले आफू औजिपी हुँदा गौतमले एक पत्रकारमार्फत २० लाख रुपैयाँ माग्न पठाएको उल्लेख गरेका छन् । खरेल आइजिपी हुँदा गौतम गृहमन्त्री थिए । गौतमले नै खरेललाई पुरा कार्यकाल रहन नदिई हटाएका थिए ।

गौतमले भने पुस्तकमा लेखिएअनुसार आफूले पैसा नमागेको दावी गर्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन् ।

सोमबार आफ्नै निवास भैँसेपाटीमा पत्रकारसँग कुराकानीमा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इंगित गरी एक पत्रकारमार्फत रु २० लाखको प्रस्ताव पठाउँदा अस्वीकार गरेको झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताए ।

गौतमले कुन पत्रकार पैसा माग्न आएको हो नाम सार्वजनिक गर्न खरेललाई चुनौतिसमेत दिएका छन् । गौतमले खरेलले आइजिपीबाट हटाएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको दाबी गरे ।

खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाएको स्पष्ट पारे ।