काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अङ्गप्रत्यङ्ग आखेटोपहार बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन ।
आखेटोपहार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार नियन्त्रण गर्ने उद्देश्यले हुन लागेको चौथो सम्मेलनमा भाग लिन मन्त्री बस्नेत त्यसतर्फ गएको जानकारी गराईएको छ । सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुँदैछ ।
सम्मेलनमा एशिया, युरोप र अफ्रिकासहित विभिन्न ५० मुलुकका करीब एक हजार पाँच सय प्रतिनिधिको सहभागिता हुने वन मन्त्रालयले जनाएको छ । मन्त्री बस्नेतले बिहीबार सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिएका छन ।
शुक्रबार उनले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुने निष्कर्ष बैठकमा समेत मन्तव्य दिने कार्यक्रम रहेको छ । नेपालले यस पटक पनि वन्यजन्तुको अवैध शिकार रोक्न अङ्गप्रत्यङ्गका अवैध ओसारपसार नियन्त्रणमा थप कडाइ गर्नुपर्ने अडान दोहो¥याउने मन्त्रालयले जनाएको छ । रासस




प्रतिक्रिया