असोज २६, काठमाण्डौ । बामदेव गौतमले काठमाण्डौ क्षेत्र नम्बर सातबाट चुनाव नलड्ने भएका छन् । उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका हुन् ।
स्थानीय जनमत र पार्र्टीिभत्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडालले बामदेव गौतम संसदमा आए हुन्थ्यो भनेर आफूले पनि चाहना राखेको तर समय अनुकूल नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बडालले गौतमका लागि रामवीर मानन्धरले राजिनामा दिए पनि उक्त कुरा पार्टीको निर्णय नभएको स्पष्ट पारे ।
मानन्धर र गौतमबीच भएको समन्वयलाई पार्टीले विरोध गर्न भने नसकेको बडालले बताए । तर रामवीरले राजिनामा दिनु गलत भएको बताए ।
“म रामवीरलाई के अनुरोध गर्न चाहन्छु भने तपाई एक्लै चुनाव जित्नुभएको होइन । हजारौँ जनताको विश्वासले चुनाव जित्नुभएको हो । ईच्छा लाग्नेवित्तिकै पत्रकार सम्मेलन गरेर राजिनामा दिनु राम्रो होइन ।” बडालले भने ।
रामवीरले जनताले दिएको जिम्मेवारीबाट भाग्न खोजेको बडालको आरोप थियो । मतदाताकै सल्लाहअनुसार राजिनामा दिनु स्वभाविक भए पनि रामवीरले जनताको भावनाविपरित गलत काम गरेको बडालको ठहर छ ।
वामदेवले संसदमा जान पाएहुन्थ्यो भन्ने चाहना राख्नु स्वभाविक भए पनि रामवीरले राजिनमा दिनु गलत भएको उनले बताए ।
कसैलाई राजिनामा गराएर चुनाव लड्ने चाहना राख्नु गौतमको पनि कमजोरी भएको भन्दै बडालले अब यस्तो काम नगर्न सुझाब दिए ।
नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेले बामदेव गौतम सिङ्गो पार्टीको नेता भए पनि चुनाव लड्नका लागि अहिले कतै पनि खाली नभएको बताए ।
गौतमलाई चुनाव लडाउने विषयमा पार्टीभित्र छलफल नै नभएकाले यस विषयमा छलफल गर्नु जरुरी नभएको गैरेले बताए ।




प्रतिक्रिया