एनआरएनसँग सहकार्य गर्न सरकार तत्पर छ : प्रधानमन्त्री ओली


काठमाडौँ, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।

काठमाडौंको होटल सोल्टीमा आजदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्न सङ्घले निर्वाह गरेकोे भूमिकाको सराहना समेत गरे ।

मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्नैपर्ने बताए ।

उनले विज्ञ सम्मेलनले गरेको निष्कर्ष विकासका लागि सरकारलाई महत्वपूर्ण सुझाव हुने उल्लेख पनि गरे । नेपालको मौलिक संस्कृति विश्वसामु परिचित गराउन सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने,”नेपाल विश्वकै छुट्टै पहिचान भएको देश हो । अध्ययन, अनुसन्धान, अनुभवले विकासको आधार तयार पार्छ, अब आर्थिक समृद्धिका लागि सबैको सहभागिता जरुरी छ ।”

उनले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको योगदान महत्वपूर्ण भएको उल्लेख गरे । ओलीले कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोग आवश्यक भएको उल्लेख गर्दै पूर्वाधार विकास तथा जलविद्युत् उत्पादनको क्षेत्रमा लगानी गर्न सरकारले विशेष ध्यान दिएको बताए ।

त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले आवश्यक नीति निर्माण परिमार्जन गरेरै भए पनि लगानीको वातावरण सिर्जना गर्ने बताए ।

नेपालको पर्यटन विकासमा गैरआवासीय नेपालीहरुले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै उहाँले नेपाललाई विश्वका विकसित देशसँग सुदृढ सम्बन्ध स्थापना गर्ने माध्यमका रुपमा गैरआवासीय नेपालीले इमानदारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले बढ्दो व्यापार घाटाले देशको अर्थतन्त्र चुनौतीको मोडमा पुगेको वास्तविकता औँल्याउँदै त्यसो हुन नदिन महासङ्घले निर्यातमूलक उद्योगको प्रवद्र्धनमा जोड दिएको बताईन् ।

सङ्घका अध्यक्ष भवन भट्टले विदेशमा सिकेका ज्ञान र सीपसँगै लगानी गरेर नेपाललाई समृद्ध तुल्याउन आफूहरु दृढ रहेको बताए । उनले पूँजीमात्रै नभई विदेशमा सिकेका ज्ञान, सीप र अनुभवको सदुपयोग गर्न सरकारसँग आग्रह गरे ।

सङ्घको अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा. उपेन्द्र महतोले मातृभूमि नेपालको विकासलाई आफूहरूले प्राथमिकता दिएको स्पष्ट पारे ।

सम्मेलनमा पूर्व अध्यक्षद्वय शेष घले र जीवा लामिछानेले लगानीमैत्री नीति आवश्यक भएको भन्दै त्यसो भएमा गैरआवासीय नेपालीले हृदय खोलेर लगानी गर्ने बताए । रासस तस्विर : मुकुन्द कालिकोटे