मातृभूमिको विकासलाई हामीले प्राथमिकता दिएका छौं : डा. महतो


काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्रा्िष्ट्रय समन्वय परिषद्का संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा. उपेन्द्र महतोले मातृभूमि नेपालको विकासलाई आफूहरूले प्राथमिकता दिएको स्पष्ट पारे ।

काठमाडौंको होटल सोल्टीमा आजदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै संरक्षक डा. महतोले यस्तो बताएका हुन् ।

महतोले व्यक्तिगत प्रगति भए पनि देश समृद्ध नभएसम्म सन्तुष्ट हुन नसक्ने बताए । संसारका कुनै पनि देश विदेशीले बनाइदिँदैनन् उनले भने, “देश विकासका लागि हाम्रो कर्तव्य सुरु भइसकेको छ । पुँजी, सीप, ज्ञान र अनुभवका लागि नेपालमा लगानी गरौं। कम्तीमा एक पटक नेपाल आऔं ।”

सम्मेलनमा पूर्व अध्यक्षद्वय शेष घले र जीवा लामिछानेले लगानीमैत्री नीति आवश्यक भएको भन्दै त्यसो भएमा गैरआवासीय नेपालीले हृदय खोलेर लगानी गर्ने बताए ।