म्याग्दीको गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु


असोज २७, काठमाण्डौ । गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणका लागि काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ ।