काठमाण्डौ, २९ असोज । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले पार्टीभित्रको बहस, छलफल र अन्तरविरोधलाई विवादको रुपमा लिन नहुने बताएका छन् ।
नेताहरको फरक विचारका विषयका छलफल गरेर अगाडि बढ्ने प्रयास भइरहेको नेता गजुरेलले बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम “नेपाली बहस” मा ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीको नीतिअनुसार बैठकहरु बसेर सबै विषयमा टुङ्गो लगाइने बताए ।
सरकारको कामबारे बाहिर भइरहेका टिका टिप्पणी सबै सत्य नभएको उनको जिकिर थियो । केही कमि कमजोरी भए पनि उपलब्धि पनि महत्वपूर्ण भएको गजुरेलले बताए ।
अहिलेको सरकार सफल भयो वा भएन भनेर मूल्याङ्कन गर्ने बेला नभएको उनको तर्क छ । सरकारले ल्याएका नीति तथा कार्यक्रम लागु हुने क्रममै रहेकाले अहिले नै सरकार असफल भयो भन्न नहुने उनको भनाई छ ।
“अहिले अर्थतन्त्रको जग निर्माण गर्ने काममा सरकार लागेको छ । अर्थमन्त्रीले श्वेत पत्र जारी गरेर काम गरिरहनुभएको छ । डामाडोल भएको अर्थतन्त्र मजबुत बनाउन जग बसाल्ने काम भइरहेको छ ।” गजुरेलले भने ।
सरकारले केही पनि काम गर्न सकेन भन्नु पूर्वाग्रही सोच भएको उनको तर्क छ । नयाँ संरचनामा काम गर्नुपर्ने जिम्मेवारी अहिलेको सरकारमाथि भएकाले केही कठिनाई र कमजोरी भएको उनले बताए ।
एकतापछि पार्टीभित्रको संरचना पनि सबै बन्न नभ्याएकाले सरकारको प्रभावकारिता कम भएको गजुरेलले स्विकार गरे ।
“सरकारको काम प्रभावकारी हुनका लागि पार्टीको काम पनि प्रभावकारी हुनुपर्छ । कम्युनिष्ट पार्टी र सरकारबीचको सम्बन्ध बुर्जुवा पार्टीको भन्दा फरक हुन्छ । पार्टीको संरचनाहरु नबनेको सन्दर्भमा सरकारको काम जति प्रभावकारी हुनुपथ्र्यो त्यति नभएकै हो । यसलाई हामीले स्विकार गर्नैपर्छ ।” गजुरेलले भने ।




प्रतिक्रिया