चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जीप यात्रा शुरु

0
Shares

चितवन, २९ असोज । चितवन राष्ट्रिय निजुञ्जमा वर्षात्का कारणले रोकिएको जीप सफारी पुनः शुरु भएको छ । वर्षा समाप्त भएसँगै दशैँको मुखमा जीप यात्रा शुरु गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार असोज २५ गतेदेखि सौराहा, कसरा र मेघौलीबाट जीप यात्रा अन्तर्गत सौराहाबाट ३०, मेघौली र कसराबाट आठ÷आठवटा जीपका लागि अनुमति दिइएको छ ।

पर्यटकलाई निकुञ्ज घुमाउन १० जना क्षमता भएको छानो नभएको जीप प्रयोग हुँदै आएको छ । ती जीप प्रवेश गर्दा मूल्य अभिवृद्धि कर बाहेक रु चार हजार निकुञ्जले राजश्व पाउने गर्दछ । विदेशी पर्यटकले प्रवेश शुल्कबापत रु एक हजार ५००, सार्क मुलुकका पर्यटकले रु ७५० र नेपालीले रु १०० शुल्क तिर्नुपर्ने हुन्छ ।

निकुञ्ज सफारीमा जाने पर्यटकले वन क्षेत्रसँगै विभिन्न वन्यजन्तु, तालतलैया, चराचुरुङ्गी अवलोकन गर्न पाउँछन् । मुख्य रुपमा एकसिङ्गे गैँंडा, बाघ, भालु, गोही अवलोकनका लागि पर्यटक निकुञ्ज जाने गर्दछन् ।

यसअघि असार २५ गते वर्षात् शुरुभएसँगै निकुञ्जले जीप यात्रा बन्द गरेको थियो । त्यतिबेला जिप यात्राको अनुमति लिएका नवलपरासीको अमलटारीका थारु भिलेज र टेम्पल टाईगरले यसवर्ष हालसम्म अनुमति लिन नआएको अर्यालले बताए।

अहिले पर्यटकका लागि अनुकुल याम भएकाले निकुञ्ज घुम्न आउने पर्यटक बढ्न शुरु भएको सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले जानकारी गराए। रासस