Logo

कसरी बन्छ श्रीपेच ?



काठमाडौं ३० असोज । पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेचमा ७ सय ५० टुक्रा हिराका हार छन् । १६ वटा मणिमाणिक्य छन् । श्रीपेचको पछिल्तिर कल्की झुन्डिएको हुन्छ । कल्की चराको पुच्छर हो ।

दाहालका अनुसार ‘बर्ड अफ प्याराडाइज’ नामको चरोको पुच्छरबाट कल्की बनाइएको हो । यो चरा दुर्लभ र संरक्षित चरा हो । यो चराको पुच्छर अमेरिकाबाट ल्याएर श्रीपेच आकर्षक बनाउने काम राणा प्रधानमन्त्री चन्द्रशमशेरले गरेका थिए ।

ज्ञानेन्द्रले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यसको लगत संकलन गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी संघका पदाधिकारीले यसको लगत तयार पारेका थिए । त्यसक्रममा कल्कीबाहेकको भागमा हिरा, मोती, माणिक, नवरत्न र सुन प्रयोग भएको जनाइएको थियो ।

श्रीपेचलाई शक्तिको प्रतीकका रूपमा लिइन्छ । दाहालका अनुसार श्रीपेचको सुरुवात शाहवंशीय राजा राजेन्द्रविक्रमको पालामा भएको हो । राणा प्रधानमन्त्रीले पनि श्रीपेच लगाउँथे । प्रधानमन्त्री माथवरसिंह थापाले श्रीपेच लगाएका थिए ।

‘श्रीपेच शक्तिको प्रतीक हो,’ दाहालले भने, ‘यो लगाएपछि राजा–महाराजाले आफूलाई दैवीशक्ति प्राप्त भएको ठान्थे । मुकुट शक्तिको प्रतीक हो । देवीदेवतालाई पनि मुुकुट लगाइदिने प्रचलन छ ।’

अब श्रीपेच र राजदण्ड प्रदर्शनीमा
पूर्वराजा ज्ञानेन्द्र शाहले २९ जेठ २०६५ मा हस्तान्तरण गरेको श्रीपेच र राजदण्ड सार्वजनिक प्रदर्शनीमा राखिएको छ । नारायणहिटी संग्रहालय खुलेको १० वर्षपछि श्रीपेचलगायत १२ बहुमूल्य सामान प्रदर्शनीमा राखिएको हो ।

जनआन्दोलनको बलमा स्थापित संविधानसभाले गणतन्त्र घोषणा गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रले श्रीपेच र राजदण्डसहित राजकीय अवसरमा प्रयोग गर्ने सामग्री सरकारलाई हस्तान्तरण गरेर दरबार छाडेका थिए । त्यसको करिब १० महिनापछि २०६५ फागुन १५ बाट नारायणहिटीलाई संग्रहालयका रूपमा खोलिएको थियो ।

प्रधानमन्त्री केपी ओलीले सोमबार नारायणहिटी संग्रहालयको शैलुङ कक्षमा प्रदर्शनी उद्घाटन गरे । ‘आज अत्यन्त महत्त्वपूर्ण दिन हो,’ उद्घाटन समारोहमा ओलीले भने, ‘जन्मँदै शासक हुने र दैवीशक्तिबाट मान्छे शासक हुने झूटो सिद्धान्त स्थापना गरिएको थियो । जनता झूटो सिद्धान्त र त्यसका आधारमा उत्पन्न अहंकारको सिकार भएका थिए । त्यही अहंकारको प्रतीक श्रीपेच आज सार्वजनिक प्रदर्शनमा राखियो ।’

उनले अहंकारी सत्ताको अन्त्यका लागि लखन थापादेखि नै लडाइँ सुरु भएको बताए । ‘चार सहिद र कृष्णलालहरू लडे । लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समहरू लडे । बीपी कोइराला र मनमोहनहरू लडे,’ उनले भने । आफूले पनि ४८ वर्षअघि गणतन्त्रका लागि लडेको उनले बताए । उनले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको र जंगबहादुरले राष्ट्रियता जोगाएको तर्क गरे । ‘राष्ट्रियता जोगाउन शाहवंशले पटक–पटक योगदान पुर्‍यायो तर त्यसो भन्दैमा वंशमा आधारित शासन व्यवस्था जायज थिएन,’ ओलीले भने, ‘जनताबाट निर्वाचित शासन व्यवस्था नै तार्किक छ, वास्तविक छ ।’

उनले नेपालीको लडाइँ तानाशाहीविरुद्ध भएको तर इतिहासविरुद्ध नभएको बताए । ‘राजतन्त्र जनताले फालेका हुन्, फालिएका राजालाई जनताले सम्मानसाथ राखेका छन्,’ ओलीले भने । उनले चीनका अन्तिम बादशाहले आफू राजा र नागरिक हुँदा के फरक भयो भनेर पुस्तक लेखेको उल्लेख गर्दै भने, ‘बादशाह भित्रैबाट खोक्रा हुन्छन् । खोक्रोपन नदेखियोस् भनेर सधैं त्रसित हुन्छन् । त्यही भएर राजदण्ड बोक्छन् । अनौठा कपडा लगाउँछन् ।’ उनले भने, ‘हाम्रा बादशाहले पनि आफ्ना अनुभूति लेखे हुन्थ्यो तर कहिले के, कहिले के बोलेर बसेका छन् ।’

ओलीले सधैं दरबारको इतिहास लेखिएको र प्रदर्शनीमा पनि राजा–महाराजालाई नै राखिएको बताए । ‘त्यतिबेला विकास र वैभव शासकका दरबारमै हुन्थे,’ उनले भने, ‘जनता लड्थे तर इतिहास लेखिँदैनथ्यो । जनता घाँसदाउरा गर्दा गाउँथे, रोधीघरमा नाच्थे । तिनका कुरा कहाँ लेखिनु ? सेरिने–मारिने त कालु पाण्डे हुन्, मर्ने दामोदर पाँडेहरू हुन् । तर तिनको भन्दा ज्यादा इतिहास राजा–महाराजाको लेखियो ।’ उनले जनता नायक भए पनि तिनको नायकत्वको इतिहास नलेखिएको बताए ।

ओलीले नारयाणहिटीलाई गोपाल वंशदेखि शाह वंशसम्मको इतिहास झल्किने संग्रहालयका रूपमा विकसित गर्नुपर्ने बताए । उनले इतिहास मात्रै नभई सबैको संस्कृति प्रतिविम्बित हुने संग्रहालयका रूपमा विकास गर्नुपर्ने जनाए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले अधिकारसम्पन्न समिति बनाएर नारायणहिटी संग्रहालयको दिगो विकासका लागि योजना बनाएको जानकारी दिए । ‘यसलाई देशकै उत्कृष्ट संग्रहालयका रूपमा विकास गर्ने योजना छ,’ अधिकारीले भने, ‘यहाँको सामान जस्ताको तस्तै छ । त्यसलाई चीरकालसम्म रहने बनाउनुपर्छ ।’ अधिकारीले अब पुस्तकालयलगायत संरचना खोल्ने योजना बनाएको जानकारी दिए । नारायणहिटीका ५२ मध्ये १९ वटा कोठा मात्रै खोलिएका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot