पार्टी एकताका लागि ओली र प्रचण्ड दशैँभर छलफलमा जुट्ने


असोज ३०,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले दसैंमा पनि पार्टी एकताको विषयमा छलफल जारी राख्ने भएका छन् ।

पार्टी एकताको तीन महिनाभित्र तल्लो तहसम्म (स्थानीय तहसम्मकै) एकता प्रक्रिया टुंग्याउने घोषणा गरे पनि अझै नटुंगिएकाले दुई अध्यक्ष गृहकार्यमा जुट्न लागेका हुन् ।

दुई दिनको छलफलमा उनीहरूले प्रदेश कमिटीको पूर्णता, जिल्ला नेतृत्व र जनवर्गीय संगठनको नेतृत्वका विषयमा खाका बनाउनेछन् ।

नेकपाले अहिलेसम्म केन्द्रमा चार सय ४१ सदस्यीय केन्द्रीय समिति, नौ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी समिति र सातवटै प्रदेशको पदाधिकारीको मात्र चयन प्रक्रिया टुंग्याएको छ । त्यसमध्ये पनि प्रदेश पदाधिकारी चयन प्रक्रियामा वरिष्ठ नेता माधव नेपालले पार्टी्भित्रै लिखित असहमति दर्ता गराएका छन् ।

नेकपाले प्रदेश कमिटिको पूर्णता, जिल्लादेखि तल्ला कमिटीको एकीकरण, जनवर्गीय संगठनहरूको एकीकरणको काम टुंगो लगाउन बाँकी छ । केन्द्रीय नेताहरूको कार्य्विभाजन, केन्द्रीय विभागहरूको गठन, पोलिटब्यूरोको गठन लगायतका काम अझै बाँकी छन् ।

दसैंको टिकाको दुई दिनपछि अर्थात् ४ र ५ कात्तिकमा यी सबै विषय नेकपा सचिवालय बैठकको एजेण्डाका रूपमा छलफल हुने भएकाले पनि दुई अध्यक्ष चाडबाडको बेलामा गृहकार्यमा बस्न लागेका हुन् ।

केन्द्रमा एकता भए पनि तल्लो तहको एकता प्रक्रिया ढिलो हुँदा नेकपाको आन्तरिक संगठनात्मक काम प्रभावित भएको छ ।

नेकपाले कात्तिक ४ र ५ गतेका लागि सचिवालयको बैठक पनि बोलाएको छ ।
त्यसैगरी कात्तिक १२ र १३ गते स्थायी समिति बैठक बोलाइएको छ ।