झलनाथले भने–सरकारले काम गर्न सकेन, ज्ञानेन्द्रले भने– आत्ममूल्याङ्कन गरौँ


असोज ३०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आज आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताएका हुन् । महंगी नियन्त्रणमा ठोश काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उनको भनाइ थियो ।
नेता खनालले संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गरे । सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उनको सुझाव थियो ।

यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाहले अहिलको परिस्थितिमा देश कसरी बचाउने भन्ने कुरा समग्र नेपालीको साझा चिन्ता हुनु पर्ने बताएका छन् ।

करिब एक महिना लामो विदेश भ्रमण गरी मंगलबार स्वदेश फर्किए लगत्तै दशैँको शुभकामना सन्देशमा पूर्व राजा शाहले देश बचाउन सबैसँग आग्रह गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, “देश बन्ने, बनाउने सपना देखेका हामी नेपाली, राजनीतिक परिवर्तनको नाममा समेटिएका असामायीक तथा असान्दर्भिक कार्य सूचिहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ता जनक अवस्थामा आइपुगेका छौँ ।” शमाहाले अब समीक्षा र आत्ममुल्याङ्कन गर्नसबैसँग आग्रह गरेका छन् ।

आफैलाई साक्षी राखेर देश र देशबासीका नाममा केही गर्ने प्रयत्न गर्न पनि उनले सुझाब दिएका छन् । त्यस्तै पूर्व राजा शाहले नेपालीबिचको सामाजिक सद्भाव मेटिदै गएको र तराई, पहाड तथा हिमालको एक्यभाव तोड्ने प्रयत्न भइरहेकोमा समेत चिन्ता व्यक्त गरेका छन् ।