कर्णालीमा जलयात्रा पर्यटन

0
Shares

काठमाडौँ, १ कात्तिक । गत शुक्रबार आठबीस नगरपालिका–१ डाव दैलेखका कर्णबहादुर रावत र उनकी श्रीमतीलाई चिया चाउचाउ नास्ता खुवाउन भ्याइनभ्याइ थियो ।

खासै यसअघि दुईचार स्थानीय ग्राहक आउने त्यस चिया पसलमा उक्त दिनको भीडले भने रावत दम्पती निकै दङ्ग थियो । त्यहाँ कर्णाली प्रदेश सरकार, आन्तरिक तथा विदेशी पाहुना पुगेका थिए ।

आजभोलि रावतझैँ कर्णाली नदी किनारमा रहेका अन्य होटल पसलमा पनि पाहुनाको राम्रै भीड लाग्छ । विगतभन्दा यस वर्ष त्यस क्षेत्रको व्यापार व्यवसाय पनि फस्टाएको छ । एक महीनादेखि कर्णाली नदी क्षेत्र र जलयात्राको सम्भावना अध्ययन गर्दै आएको नेपाल नदी संरक्षण संस्थाको टोली र केही विदेशी पर्यटक तीन दिनदेखि डावमै रहँदा स्थानीय व्यवसायीलाई रामै्र मुनाफा भएको थियो ।

डावमै पुगेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा र प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलसहितको सरकारी टोलीले सो दिन नदी संरक्षण संस्थाको टोलीसँग कर्णाली नदी किनारमै पालमा रात बितायो ।

शनिबार मुख्यमन्त्री शाहीले जलयात्राको विधिवत् उद्घाटन गरेसँगै कर्णाली नदीमा १० किलोमिटर जलयात्रा गरेका थिए जहाँ पर्यटनमन्त्री नन्दसिंह बूढासमेत सवार रहेका थिए। उक्त दिनदेखि कर्णालीमा औपचारिक रुपमै साहसिक खेल जलयात्राको सञ्चालन भएको छ ।

मुख्यमन्त्री शाहीले उतिबेलादेखि नै जीवनरेखा मानिने कर्णाली र बङ्गलादेश जोड्ने रेशमी मार्ग कायम गर्नेतर्फ अघि बढ्ने बताए । खासगरी हिन्दू धर्मावलम्बीको राजधानी कैलाश मानसरोवरसँग जोडिएको सुवर्णभूमि कर्णालीको विकासका लागि प्रदेश सरकार गतिशील रहेको उनको भनाइ रहेको थियो । उनले भने, “अब कर्णालीले दुःख होइन, यसले आफूसँग भएको चीज बेच्नुपर्छ ।” कर्णालीलाई डलर आम्दानीको स्रोत बनाउने र मानसिक रुपमा जकडिएको गरीबी हटाउने सोचको विकास हुन आवश्यक रहेको उनले औँल्याए।”

मुख्यमन्त्री शाहीसहितको प्रदेश सरकारको आगमनले कर्णाली नदीमा जलविद्युत् दृष्टिले मात्र नभई साहसिक खेलसमेत आकर्षण बनेको छ । सरकारको यो कामले पर्यटन प्रवद्र्धन, कर्णाली नदीको प्राचीन इतिहासको उजागर, यहाँको जलजङ्गल र जमीनको उपयोगिता एवं उत्पादनमा वृद्धि भई आर्थिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बेलायती पर्यटक टोली टेलरले कर्णाली नदीको कञ्चन पानीमाथिको जलयात्राले स्वर्गीय आनन्द प्राप्त हुनाका साथै तनावमुक्त भएको बताएका छन । “नदीभित्रको माछा, किनारास्थितका वन क्षेत्र, उत्पादनयोग्य फाँट, मानवबस्ती, सांस्कृतिक वेशभूषा र सङ्घर्षशील जीवनका थुपै्र दृश्य कैदमात्र होइन, अध्ययन गर्ने अवसर मिल्दो रहेछ”, उनले भने, “अब यो अनुभव र अनुभूतियुक्त तस्वीरको सन्देश मेरो देशमा लिएर जान्छु ।”

आजभोलि सडकको छेवैमा धुँलाले पोतिएको होटेल तथा पसलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो तथा जलयात्रा गर्ने विदेशीको भीड लाग्न थालेको छ । गएको वर्ष जापानी टोलीले नदीमा जलयात्रा शुरु गरेको आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विक बताउन्छन । “यस क्षेत्रमा अब होमस्टे सञ्चालनमा ल्याउने पहल भइरहेको छ”, वडाध्यक्ष विकले भने, “यसका लागि निजी लगानीकर्ता र कर्णाली प्रदेश सरकारसँग समन्वय गर्छौं ।” कर्णालीमा जलयात्रा गर्न र माछा मार्न विदेशी बढी आउने गरेको उनको भनाइ छ । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न थालेपछि अब यहाँ दूध, दही, माछामासुको माग बढ्न थालेको छ ।

सोही वडाका बासिन्दा हर्कबहादुर शाहीले भारतीय जिएमआर कम्पनीले माथिल्लो कर्णालीमा ९५० मेगावाट विद्युत् निकाल्ने जिम्मा लिए पनि सो परियोजना अलपत्र पारेको आरोप लगाए । “कर्णालीबाट ९५० मात्र होइन, चार हजार मेगावाट विद्युत् निकाल्ने क्षमता छ”, शाहीले भने, “न यहाँ विद्युत् निकाल्ने काम अघि बढेको छ न त प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा वितरण गर्ने काम नै ।”