सम्बन्धविच्छेदमा पुरुष अघि

0
Shares

काठमाडौं ५ कार्तिक । सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिनेमा महिलाभन्दा पुरुष बढी देखिएका छन्। १ भदौयता काठमाडौं जिल्ला अदालतमा ९८ जना पुरुषले पत्नीसँग छुट्टिन निवेदन दिए। त्यस अवधिमा अदालत पुग्ने महिला ८७ मात्रै छन्।

डेढ महिनामा महिला र पुरुष दुवै गरी एक सय ८५ जनाले पारपाचुकेका लागि अदालतको ढोका ढक्ढकाएका हुन्। दैनिक आठ-नौ जनाको दरमा अदालतमा यस्ता निवेदन पर्ने गरेका छन्। गत वर्ष यही अवधिमा तीन-चार जना महिला मात्रै आउने गरेको अदालतको अभिलेखले देखाएको छ।

भदौ १ गतेदेखि मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएपछि पुरुष सोझै अदालतमा जान व्यवस्था भएको हो। पहिले पुरुष सम्बन्धविच्छेदका लागि सीधै अदालतमा जाने कानुनी प्रबन्ध थिएन। वडाको सिफारिसमा गाविस, जिविस वा नगरपालिका हुँदै पुरुष बल्ल अदालतमा पुग्न पाउँथे। पत्नी मात्रै सोझै अदालत जान पाउने व्यवस्था थियो।

वैदेशिक रोजगारीमा दुई वर्ष दोहा बसेर फर्केपछि नुवाकोट त्रिशुली घर भई काठमाडौं मनमैंजु बस्ने एक पुरुष सम्बन्धविच्छेदका लागि दसैंअघि काठमाडौं जिल्ला अदालत पुगे।

निवेदनमा जनाइएअनुसार २०६० सालमा उनको ‘लभ म्यारिज’ भएको थियो। यी दम्पत्तीबाट एक छोरीको जन्मेकी छन्। छोरीले आठ कक्षा पढ्दै छन्। छ महिनाअघि विदेशबाट घर फर्किएपछि मनमुटाव, पारिवारिक अशान्ति, मानसिक तनाव बढेको बताउँदै एकसाथ जीवन बिताउन नसक्ने कारण उनले दर्शाएका छन्। पत्नीको परपुरुषसँगको हिमचिमलाई उनले सम्बन्धविच्छेदको मुख्य कारक देखाएका छन्।

उनीजस्तै दैनिक ४÷५ जना पुरुष धमाधम अदालत धाउन थालेका छन् तर कारण भने एक मात्र छैनन्। यी दम्पत्तीलाई डाकेर एकपल्ट सम्झाइबुझाइ गर्दै मेलमिलाप गराइदिने तयारीमा अदालत छ।

सम्बन्धविच्छेदका लागि अदालत जाने महिलाको संख्या पनि अघिल्ला वर्षको तुलनामा बढ्दो छ। पतिले खानलाउन नदिएको, घरेलु हिंसा गरेको, विदेश गएपछि बेवास्ता गरेको, घर निकाला गरेको, परस्त्रीगमनमा लागेको लगायत कारण महिलाका निवेदनमा दर्शाइएका छन्। कतिपय पति-पत्नी विदेश जाने प्रयोजनका लागि अर्को नक्कली विवाह गरेर पनि आउने गरेका छन्।

जनघनत्व बढी भएका कारण मुलुकभरिमा काठमाडौं जिल्ला अदालतमा बढी मुद्दा दर्ता हुन्छन्। ‘सम्बन्धविच्छेदको कारण एउटा मात्रै छैन,’ काठमाडौं अदालतका मुद्दा दर्ता शाखाका अधिकृत टीकासिंह खत्रीले भने, ‘काठमाडौंमा महिलाभन्दा पुरुष अघि देखिएका छन्।’

खत्रीका अनुसार पतिले बैंक वा फाइनान्सबाट ऋण लिएर धितो लिलाम हुने स्थितिमा नक्कली सम्बन्धविच्छेदको नाटक गर्ने क्रम पनि बढ्दो छ। ‘तर कानुनी रूपमा मञ्जुरीमा कागज मिलाएर ल्याइसकेपछि अदालतले भने दर्ता गर्नुपर्ने हुन्छ। प्रयोजन एउटा भए पनि कारण भने अर्कै देखाउने अवस्था छ,’ उनले भने।

ऐनको दफा ९३ मा पति-पत्नी दुवैले चाहेमा जहिलेसुकै सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ। दफा ९४ मा पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंगभंग हुने वा कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल वा प्रपञ्च गरेमा र पत्नीले अन्य कुनै पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्धविच्छेद हुन सक्ने भनिएको छ।अन्नपूर्णपोष्टबाट