काठमाडौं, ५ कात्तिक । प्रदेश नम्बर २ का सांसद एवम् राजपा नेपालका महामन्त्री मनिष सुमनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै सीके राउतलाई संरक्षण गरिरहेको गम्भिर आरोप लगाएका छन् ।
सोमबार राति प्राईम टाईम्स टेलिभिजनको नियमित कार्यक्रम “जनता जान्न चाहन्छनमा” पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका छन् ।
फरक प्रसंगमा उनले आफ्नो पार्टीले वर्तमान सरकारलाई अहिले औपचारिकतामा मात्रै समर्थन दिएको जनाए । उनले भने,”तर अनौपचारिक रुपले यो सरकारसँग टाढिईसकेका छौं । टाढामात्रै होईन, हामी प्रशस्त टाढिईसकेका छौं । सरकारसँग अब कुनै वास्ता छैन ।”
मुलुकमा संघीयता आउनुभन्दा धेरै पहिल्यै नै सीके राउतको उदय भएको उनको भनाई छ । उनले भने,”संघीयता आएपछि हाईन, त्यो भन्दा धेरै पहिले सीके राउत जन्मिएका हुन् ।”
तर, राउतलाई तपाईहरुले संरक्षण गरिरहनुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,”हामीले किन संरक्षण दिनु ? त्यसलाई संरक्षण दिईरहेको म आरोप लगाउँछ, तपाई यसलाई ब्रेकिंग नबनाउनुहोला ? त्यसलाई संरक्षण दिएको केपी शर्मा ओलीजीले हो । त्यसलाई उक्साएको केन्द्रिय राज्य सत्ताले हो । वार्ता र सम्वादमार्फत टुँगिन सक्दथ्यो ।”
देशलाई नै विखण्डन गर्छु भन्नेसँग सरकारले किन वार्ता गर्ने भनेर धमलाले तेर्साएको अर्को प्रश्नमा उनले भने,”वार्ता त जोसँगपनि गर्नुपर्छ । कट्टर दुश्मनसँगपनि गर्नुपर्छ ।”




प्रतिक्रिया